• १२ साउन २०८१, शनिबार

१५ शय्याको पालिकास्तरीय आधारभूत अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै

blog

गुणबहादुर रोका
सुलीकोट, जेठ २६ गते ।
 गोरखाको आरुघाट गाउँपालिकामा १५ शय्याको पालिकास्तरीय आधारभूत अस्पताल सञ्चालनमा आएपछि बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाइएको हो ।

१५ शय्याको अस्पताल सञ्चालन आएसँगै सम्भव नेपाल संस्थाले उच्च स्तरको स्क्सरे मेसिन, थाइराइड जाँच र ल्याबको सेवा गाउँपालिकालाई सहयोग गरेपछि आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका, भीमसेन थापा गाउँपालिका र धादिङको दुई पालिका त्रिपुरा सुन्दरी गाउँपालिका र गङ्गा जमुना गाउँपालिकाको नागरिकहरूलाई प्रत्यक्ष लाभान्वित भएका पालिका स्वास्थ्य शाखा प्रमुख प्रबिन थापाले जानकारी दिनुभयो ।

आधारभूत अस्पताललाई सम्भव नेपाल संस्थाले लगभग ९० लाख बराबरको स्वास्थ्य सामग्रीसहित बिरामीलाई २४सैं घण्टा स्वास्थ्यकर्मीको निगरानीमा राख्ने मेसिन पनि थप उपलब्ध गराएकाले पनि बिरामीको सङ्ख्या अहिले दुई सयदेखि दुई सय ५० सम्म बिरामी परीक्षणका लागि आउने गरेको उहाँले बताउनुभयो ।

१५ शय्याको पालिकास्तरिय आधारभूत अस्पताल भर्खरै मात्र उद्घाटन भएर सञ्चालन आएको एक हप्तामा अत्यधिक मात्रामा बिरामी बढेका हुन् । आरुघाट आधारभूत अस्पताल सञ्चालन कार्यविधि २०८१ अनुसार अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।