• १२ मंसिर २०८१, बुधबार

गौतम बुद्धको मावली देवदह खयरडाँडामा भेटियो प्राचीन इनार

blog

रुपन्देहीको देवदह नगरपालिकास्थित खयरडाडाँमा फेला परेको प्राचीन इनार । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली
सिद्धार्थनगर, जेठ २५ गते ।
रुपन्देहीको देवदह नगरपालिकास्थित खयरडाडाँमा प्राचीन इनार फेला परेको छ । इट्टाको सो इनार साढे तीन फिट गहिरो छ । स्थानीयहरूले बुद्धको मावली कोलिय गणराज्यको दरबार क्षेत्र दाबी गर्दै आएको अवस्थामा इनार भेटिनुले उहाँहरुको दाबीलाई थप बल पुगेको छ ।

देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष, पुरातत्व विभागले जेठ २४ गतेदेखि सुरु गरेको उत्खननका क्रममा पूर्ण आकारमा रहेको प्राचीन इट्टाको इनार भेटिएको हो ।

गत वर्ष लुम्बिनी विकास कोषले उत्खनन गर्दा इट्टाको माथिल्लो भाग मात्रै देखा परेको थियो । २ मिटर चौडाइ र साढे तीन फिट गहिरो इट्टाको प्राचीन इनार भेटिएको लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले जानकारी दिनुभयो । ‘‘गत वर्ष इनारको माथिल्लो भाग मात्रै भेटिएको थियो, यो वर्ष इनारको बेस (तल्लो भाग) सम्म जाने योजना अनुसार उत्खनन गर्दा इनारको पूर्ण आकार भेटिएको छ ।,’’ उप्रेतीको भनाइ छ ।

उहाँका अनुसार प्राचीन इनार भए पनि कुन समयको भन्ने कुरा कार्बनडेटिङपछि मात्रै थाहा हुनेछ । इनारको दक्षिणतर्फ प्राचीन पर्खालहरू भग्नावशेषहरू भेटिएको उप्रेतीले बताउनुभयो । उत्खननका क्रममा खयरडाँडा क्षेत्रमा माटाका भाडा, प्राचीन इट्टा लगाइएको पर्खालका भग्नाअवशेषहरू भेटिएको  छ । स्थानीयहरूले पुरातात्विक स्थल भन्ने थाहा नहुँदै इट्टाहरू लगेको र त्यसरी इट्टा निकाली खाडल बनेका संरचनाहरू देखिएको उप्रेतीले बताउनुभयो ।

बुद्धको मावली कहाँ हो भन्नेबारेमा अहिले नै निर्क्यौल गर्न नसक्ने बताउँदै पुरातात्विक उत्खनन र अन्वेषण अझै बढाउनुपर्ने उहाले बताउनुभयो । रोहिणी पूर्वका नागरिकहरूले देवदहवासीका रुपमा भन्न मिल्ने उप्रेतीले बताउनुभयो । तर, बुद्धका समय र त्यो भन्दा अगाडिका माटाका भाँडा, टुक्राहरू पण्डितपुरमा भेटिएको छ ।

रुपन्देही देवदहका स्थानीयहरूले भने बुद्धको मावली देवदहको दरबार नै यहाँ रहेको दाबी गर्दै आएका छन् । प्राचीन कोलिय राज्यका क्षेत्रहरूमा निरन्तर उत्खनन अध्ययनको आवश्यकता रहेको पुरातत्व विभागका अधिकृत राजेश परियारले बताउनुभयो । उहाले खयरडाँडामा उत्खननबाट प्राप्त ऐतिहासिक तथ्य र प्रमाणलाई अध्ययन गरी आगामी दिनमा थप कदमहरू अगाडि बढाउने बताउनुभयो ।


लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख वरिष्ठ पुरातत्व अधिकृत हिमाल उप्रेतीको नेतृत्वमा पुरातत्व अधिकृत राजेश परियार, लुम्बिनी विकास कोषका नमराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तरहुसेन मुसलमान र विज्ञका रुपमा शुभेच्छा पोख्रेल उत्खननमा खटिनुभएको छ । यो उत्खनन आगामी अझै एक महिना चल्ने छ ।

देवदह नगरपालिका–९ स्थित खयरडाँडामा क्षेत्रमा देवदह नगरपालिकाको १० लाख बजेटबाट अहिले उत्खनन गरिएको हो । स्थानीय पालिकाले साझेदारीमा उत्खनन गरेको यो पहिलो रहेको बताइएको छ ।