इमान सिं राना
रामपुर (पाल्पा), जेठ २५ गते । पाल्पाको रामपुर नगरपालिका–४, वडभानघाटमा शवदाहगृह निर्माण गरिएको छ । कालीगण्डकी नदी किनारमा रहेको वडभानघाटमा वडा कार्यालय र स्थानीयको सहयोगमा शवदाहगृह निर्माण गरिएको हो ।
वर्षाको समयमा नदीको सतह बढ्दा दाहसंस्कारमा हुने समस्यालाई मध्यनजर गर्दै शवदाहगृह निर्माण गरिएको रामपुर नगरपालिका ४ नं. वडा कार्यालयले जनाएको छ । हिन्दु धर्म संस्कार अनुसार मृत्यु पश्चात् गरिने दाहसंस्कारमा वर्षायाममा समस्या हुने गरेकाले शवदाहगृह निर्माण गरिएको रामपुर ४ का वडा अध्यक्ष राम बहादुर रानाले जानकारी दिनुभयो ।
‘‘वर्षायामका बेला नदीमा पानीको सतह बढ्ने र आकाशबाट लगातार पानी पर्ने समस्याले शव जलाउन कठिनाई झेल्नुपर्ने अवस्था थियो । समस्यालाई सहज बनाउन घाटमा शवदाहस्थल निर्माण गरिएको हो ।’’ उहाँले भन्नुभयो ।
वर्षाको समयमा समुदायमा कसैको मृत्यु भएमा दाहसंस्कारका लागि विकल्प नहुँदा स्थानीयले समस्या भोग्दै आएका थिए । वडा अध्यक्ष रानाले अब पानी परेका बेला पनि शव अन्त्यष्टीमा समस्यमा नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘शव जलाउँदा जलाउँदै कहिलेकाँही नदी ह्वात्तै बढेर आउँदा जलेर नसकिदै शव पानीले बगाएर लैजाने हो कि भन्ने पिरोल्थ्यो । शवदाहगृह निर्माण भएपछि नदीमा पानी बढेर आएका बेला शव जलाउन हुने समस्या सधैँका लागि हट्ने भएको छ ।’’
शवदहन गृह निर्माणका लागि वडाले संगम समाज टोल विकास संस्थालाई जिम्मेवारी दिइएको थियो । वडा नं. ४ बाट विनियोजित रकमसँगै वडा भित्रका टोल विकास संस्था, क्लव, समुह र समाजसेवीको सहयोगमा शवदाहगृह निर्माण सम्पन्न भएको संगम टोल विकास संस्थाका अध्यक्ष हर्ष बहादुर रानाले बताउनुभयो । दुई लाख वडाबाट विनियोजित रकम, टोल विकास संस्था, महिला समूह, क्लव र समाजसेवी बाट प्राप्त सहयोग दुई लाख र वडाका टोल विकास संस्थाको श्रमदान गरी छ लाख रुपियाँ लागतमा निर्माण सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।
नदी किनारमा छानो भएको र छानो नभएको गरी दुई वटा शवदहन स्थल निर्माण गरिएको संगम टोल विकास संस्थाका सदस्य इन्द्र बहादुर घर्तीले बताउनुभयो । संगम टोल विकास संस्थाका सचिव विष्णु माया सेनले शवदहन गृह निर्माणमा वडामा रहेका १२ वटै टोल विकास संस्थाले जनश्रमदान तथा आर्थिक सहयोग गरेको जानकारी दिनुभयो ।