• १३ असोज २०८१, आइतबार

राजमार्गले बदलिएको बेस्तडा : बजार बन्दै गाउँ, फेरिँदै जनजीवन

blog

राजमार्गले बदलिएको बेस्तडा । तस्बिर : रजनी योगी

रजनी योगी
सुर्खेत, जेठ २५ गते ।
मुलुकमा विधिवत् रूपमा गणतन्त्र घोषणा भएको डेढ दशक पूरा हुन लागेको छ । लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण हुनु अत्यन्त जटिल र जोखिमपूर्ण प्रक्रिया भए पनि नेपाल यसमा सफल भएको छ । यसबिचमा मुलुकले राजनीतिक, आर्थिक, सामाजिक तथा जनजीविकाको सवालमा समेत गुणात्मक फड्को मारिसकेको छ ।

स्थानीय समस्या स्थानीय स्तरबाटै समाधान गर्न पाउनु, जनप्रतिनिधिलाई घरमै भेटेर सेवाग्राहीले गुनासो राख्न पाउनु तथा जनप्रतिनिधिले पनि व्यक्ति पहिचान गरेर उहाँहरूको समस्याको प्रकृति हेरेर सोहीअनुसार निदानको उपाय खोज्न पाउनुले वास्तवमै ‘गाउँगाउँमा सिंहदरबार’ भन्ने भनाइलाई पुष्टि गरिदिएको छ ।

दैलेखको पूर्वी क्षेत्रमा रहेको बेस्तडा बजारमा अहिले होटल तथा रेस्टुरेन्ट खोल्नेको होडबाजी चलेको छ । चार वर्ष अघिसम्म ससाना पसल, कच्ची घर, साँघुरा बाटा थिए भने गाडीको चहलपहल निकै न्यून हुन्थ्यो । अहिले होटल, रेस्टुरेन्ट खोल्नेको होडबाजी चलेको छ भने जिल्लाको मुख्य व्यापारिक केन्द्र बन्न लागेको छ । मध्यपहाडी राजमार्गको सञ्जाल जोडिएसँगै गाउँमा बजार विस्तार भएको छ । बजार बन्दै गएपछि भगवतीमाई गाउँपालिकाका सातवटै वडा र छिमेकी जिल्ला जाजरकोटबाट घरजग्गा किन्ने र व्यवसाय गर्नेहरूको लहर चलेको छ । बेस्तडा बजार भगवतीमाई गाउँपालिका वडा नं. १ र २ मा पर्छ ।

२०७० सालमा रोजगारीका लागि मलेसिया छिरेका भगवतीमाई गाउँपालिका वडा नं. २ का लोकबहादुर शाहीले राजमार्ग खुलेपछि आफू गाउँ फर्किएको बताउनुभयो । अहिले वडा नं. २ को रुममा उहाँले झण्डै सात लाख रूपियाँको लगानीमा होटल खोल्नुभएको छ । आम्दानीका नयाँनयाँ बाटा पनि खुल्न थालेको उहाँ बताउनुहुन्छ । घरआँगनमा पक्की सडक निर्माण भएपछि ग्रामीण भेगमा सहरीकरण सुरु भएको उहाँको भनाइ छ । विगतमा पुरानो कच्ची सडकखण्डका नदी र खोलामा पक्की पुल नहुँदा करिब ६ महिनासम्म सदरमुकामसँग सम्पर्कविच्छेद हुन्थ्यो । स्थानीय रुमखोला, कट्टि खोलाले बाटो अवरुद्ध हुनेगरेको थियो । अहिले बाह्रै महिना सवारीसाधन घरआगनमै पुग्नेगरेको उहाँले बताउनुभयो ।

वडा नं. २ कै जयबहादुर विकले सडक पुगेपछि स्थानीय उत्पादनले सजिलै बजार पाउन थालेको बताउनुभयो । व्यवसायसँगै सडक सुविधापछि पर्यटन प्रवर्द्धनमा सघाउ पुगेको उहाँले जानकारी दिनुभयो । उहाँको बंगुर फर्म छ । फर्ममा २७ वटा बंगुर रहेका छन् । सहज रूपमा बजार पाइएपछि कृषि खेतिपनि गरिरहेको उहाँले बताउनुभयो । उहाँ पनि २०६० मा रोजगारीका लागि मलेसिया पुग्नुभएको थियो । तीन वर्ष मलेसियमा बिताउनुभएका विक गाउँमा सडक सुविधा आएपछि गाउँ फर्किनु भएको हो ।

भगवतीमाई गाउँपालिका वडा नं. ४ का विकास बुढाक्षेत्री तीन वर्ष मलेसिया बसेर फर्किनुभयो । उहाँ तीन महिनाको छट्टिमा आउनुभएको थियो तर फेरि विदेश जानुभएन  गाउँमानै केही गर्न सकिन्छ भनेर व्यवसाय सुरु गर्नुभयो । अहिले होटल सञ्चालन गरिरहनुभएको छ । गाउँमा नै बजार निकै व्यस्त र चहलपहल देखेपछि उहाँ स्वदेशमै बस्नुभएको हो । उहाँ मात्र होइन यस क्षेत्रका व्यापारीलाई बोल्नसमेत भ्याइनभ्याई छ । राम्रो कमाइ भइरहेको बुढाक्षेत्रीले बताउनुभयो ।

भगवतीमाई गाउँपालिका जाजरकोटको सुयाडासँग जोडिएको छ । सुयाडाका किसानले उत्पादन गरेको तरकारी दैलेख बजार पुग्छ भने भगवतीमाई गाउँपालिकाको उत्पादन सजिलै जाजरकोट पुग्ने गरेको छ । सडक सञ्जाल जोडिएसँगै नागरिकलाई सहज भएको हो । राजमार्ग सञ्चालनमा आएपछि आर्थिक, सामाजिक र पर्यटकीय क्षेत्रमा परिवर्तन भएको छ । जिल्लाको पुर्वी खण्डमा करिब २९ किलोमिटर सडक कालोपत्र भइसकेको छ ।

नारायण नगरपालिकाको लोहोरे खोलादेखि भगवतीमाई गाउँपालिका हुँदै जाजरकोटको सुयाडासम्मको सडक कालोपत्र भएपछि जाजरकोट र दैलेखको दूरी कम भएको छ । सुर्खेत पुगेर छिन्छु हुँदै जाजरकोट जानुपर्ने समस्या समाधान भएको छ । पश्चिम खण्ड छामघाट खोलादेखि भैरवी गाउँपालिका, दुल्लु नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, ठाँटीकाँध गाउँपालिका र आठबीस नगरपालिकाका केही भू–भाग समेटेर मध्यपहाडी राजमार्गको पश्चिम खण्ड सञ्चालनमा छ । पश्चिमखण्डका अधिकांश स्थानमा सडक कालोपत्र गर्ने काम सम्पन्न भएको छ ।