• १३ साउन २०८१, आइतबार

सुर्खेतमा श्रमाधान रोजगारदाता मेला,रोजगारको अवसर पाउने विश्वास

blog

सुर्खेत समाचारदाता

सुर्खेत, जेठ २५ गते । आज शुक्रबारदेखि सुर्खेतमा कर्णाली प्रदेशस्तरीय श्रमाधान रोजगार मेला सुरु हुँदै छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजनामा दुईदिने श्रमाधान मेला सुरु हुन लागेको हो । 

बिहीबार आयोजित पत्रकार सम्मेलनमा श्रमाधान रोजगार मेलाले कर्णालीमा रोजगारदाता र रोजगारको खोजीमा रहेका जनशक्तिबिच समन्वय गराई रोजगारीको अवसर सिर्जना गराउने जानकारी गराइएको छ । श्रम मन्त्रालय, वैदेशिक रोजगार बोर्डका उपसचिव टीकाराम ढकालले कर्णालीको सुर्खेतमा दुई दिन आयोजना हुने रोजगार मेलामा ४० वटा स्टल रहने जानकारी दिनुभयो । 

उहाँले आठ वटा स्टल सरकारी र ३२ वटा स्टल निजी क्षेत्रले बुक गरेको बताउनुभयो । रोजगार मेलाले रोजगारदाता र रोजगार खोज्नेबिच जमघट गराउने, रोजगारीको अवसर सिर्जना गर्ने, सिप विकास प्रवर्धन गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्ने, युवा सशक्तीकरण गर्ने र सार्वजनिक निजी साझेदारी अभिवृद्धि गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो । रोजगार मेला मुख्यतः रोजगारी सिर्जनाको मुख्य अवसर बन्ने उहाँको भनाइ छ । 

दुईदिने मेलामा श्रम तथा वैदेशिक रोजगारलगायतका बारेमा प्यानल छलफल हुने छ भने विभिन्न सांस्कृतिक कार्यक्रम पनि गरिने जनाइएको छ । कर्णालीमा ठुला उद्योग कलकारखाना नभएकाले अन्य प्रदेशको तुलनामा धेरै रोजगारीको अवसर सिर्जना नभए पनि कर्णालीको आवश्यकतालाई पूरा गर्ने खालको जमघट यो रोजगार मेला बन्ने दाबी उपसचिव ढकालले गर्नुभयो । 

मेलाका सहआयोजक नेपाल चम्बर अफ कमर्स कर्णाली प्रदेशका अध्यक्ष लक्ष्मण न्यौपानेले युवा नेपालमा रोजगार छैन भनेर विदेश पलायन भइरहेका बेला रोजगार मेलाले उनीहरूलाई रोक्न सहयोग पुग्ने बताउनुभयो । साथै नेपालमै आफ्नो सिप र क्षमता अनुसारको रोजगारी गरी काम गर्न सक्ने बनाउनका लागि पनि यस्ता रोजगार मेलाले सघाउने उहाँको भनाइ छ । सिद्धार्थ हस्पिटालिटीका अध्यक्षसमेत रहेका न्यौपानेले आफ्ना सबै होटलमा गरी एक सय जनाको जनशक्ति आवश्यक रहेको भन्दै उहाँले यस रोजगार मेलाले त्यो जनशक्ति पूरा गर्ने अपेक्षा गरेको उल्लेख गर्नुभयो । 

श्रम रोजगार कार्यालय सुर्खेतका प्रमुख श्रीशमशेर रानामगरले कर्णालीमा पहिलो पटक हुन लागेको श्रमाधान रोजगार मेलालाई बेरोजगारले रोजगार पाउन सक्ने महत्वपूर्ण थलोका रूपमा लिन आह्वान गर्नुभयो ।