• १३ साउन २०८१, आइतबार

स्वदेशी उत्पादन उपभोगमा जोड

blog

काठमाडौँ, जेठ २५ गते । लघु, घरेलु तथा साना उद्योगी व्यवसायीको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासङ्घ स्थापनाको ३४ वर्ष पूरा गरी ३५ औँ वर्षमा प्रवेश गरेको छ ।

महासङ्घ ३५ औँ वर्षमा प्रवेश गरेको अवसरमा बिहीबार राजधानीस्थित महासङ्घको सचिवालयमा आयोजना गरिएको स्थापना दिवसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले स्वदेशी उत्पादन उपभोग गर्नका लागि उपभोक्तालाई उत्प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याउँदै आयात प्रतिस्थापन र निर्यात प्रवर्धनमा कसरी लैजान सकिन्छ भनेर सरकारले योजना बनाइरहेको बताउनुभयो ।

लघु, घरेलु तथा साना उद्योगको प्रवर्धन गर्नका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उहाँले लघु, घरेलु तथा साना उद्योग नीति, स्वदेशी उत्पादन निर्देशिका पनि परिमार्जन गरेर ल्याउने तयारीमा रहेको बताउनुभयो ।

लघु, घरेलु तथा साना उद्योगसँग सरकार सँगसँगै हिँड्ने, सरकारका तर्फबाट असल प्रयास भइरहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले जुनसुकै उद्योगलाई निश्चित पूर्वाधार सरकारले दिनु पर्छ, विशेष गरी घरेलु तथा साना उद्योगको संरक्षण गर्नु पर्छ भन्ने मन्त्रालयको धारणा रहेको बताउनुभयो ।

महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले ३५ वर्षमा महासङ्घ सात वटै प्रदेश, सबै जिल्ला, ३४१ वटा पालिकामा क्रियाशील रहेको भन्दै ३५ हजारभन्दा बढी उद्योग महासङ्घका सदस्य रहेको बताउनुभयो । उद्यमीका समस्यामा सरकारसँग पुलको काम गर्दै आएको उहाँले बताउनुभयो ।

सरकारले विगतमा दिँदै आएको सहुलियतपूर्ण कर्जा, पुनर्कर्जाबारे बजेट मौन देखिएकाले यसलाई निरन्तरता दिनका लागि आगामी मौद्रिक नीतिमार्फत यसको व्यवस्था हुनुपर्ने बताउनुभयो ।

देशभरका लघु, घरेलु, साना तथा महिला उद्यमीद्वारा उत्पादित स्वदेशी वस्तुको बजार प्रवर्धनका लागि अन्तर्राष्ट्रियस्तरको निर्यातगृह स्थापनाका गर्न महासङ्घले दिएको सुझावलाई बजेटमा नसमेटिएकाले यसलाई सुधार गरिनुपर्ने उहाँले बताउनुभयो ।महासङ्घका निवर्तमान अध्यक्ष श्याम गिरीले घरेलु तथा साना उद्योगीको छाता संस्थाको आवश्यकतालाई ध्यानमा राख्दै महासङ्घको स्थापना भएको स्मरण गराउँदै यस्ता उद्योगलाई अर्थतन्त्रको इन्जिन भनेर भने पनि व्यवहारमा देख्न नसकिएको बताउनुभयो ।

कार्यक्रिममा महासङ्घका सल्लाहकार अञ्जना ताम्राकार, वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्षहरू शोभा गुरुङ, राजेन्द्रमान श्रेष्ठ, हरिहर थापा, शान्ता बास्कोटा, मोहन कटुवाल, महासचिव डम्बरप्रसाद रेग्मी, केन्द्रीय महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रिता अवाललगायतले आफ्ना शुभकामना मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रिममा महासङ्घका सचिवहरू महेन्द्र चित्रकार र रुद्र न्यौपाने, केन्द्रीय महिला उद्यमी समिति बागमती प्रदेशका उपाध्यक्ष सुलोचना श्रेष्ठ, केन्द्रीय महिला उद्यमी समितिका महासचिव डा. सोनी महतो, सचिव दीपा शाक्य, महासङ्घ काठमाडौँ जिल्ला अध्यक्ष सीता कार्कीलगायतको उपस्थिति रहेको थियो । 

स्थापना दिवसकै अवसर पारेर महासङ्घ केन्द्रका साथै प्रदेश, जिल्लादेखि पालिकासम्म रहेका महासङ्घका सङ्गठनले विविध कार्यक्रम आयोजना गरी मनाइरहेका छन् ।