• १४ असार २०८१, शुक्रबार

आइएमएफले अन्तिम किस्ता उपलब्ध गराउने

blog

काठमाडौँ, जेठ २५ गते । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपाललाई   विस्तारित कर्जा  सुविधा (इसिएफ) अन्तर्गतको चौथो किस्ता उपलब्ध गराउने भएको छ ।  

कोषको एसिया प्रशान्त डिभिजन अन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा. टिडियान किन्डा नेतृत्वको टोलीले बिहीबार अर्थमन्त्री वर्षमान पुनसँग भेट गर्दै यस सम्बन्धमा जानकारी गराएको हो ।  

आइएमएफ कार्यकारी बोर्डले कोरोना महामारीको समयमा २०७८ पुसमा नेपाललाई इसिएफ अन्तर्गत चार वर्षभित्र ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेको थियो ।

जसमध्ये यसअघि नै तेस्रो किस्ता निकासा भइसकेको छ भने अन्तिम अर्थात् चौथो किस्ताबापत पाँच अर्ब ५९ करोड (४२ मिलियन अमेरिकी डलर) उपलब्ध गराउन बाँकी छ ।

विस्तारित कर्जा सुविधाको प्रत्येक किस्ता रकम निकासा गर्नुअघि कोषले यसअघिको प्रतिबद्धताको समीक्षा गर्ने गरेको छ । सोही समीक्षाका लागि कोषको मिसन नेपाल आएको हो । भेटमा मन्त्री पुनले नेपालले आर्थिक स्थायित्व, सुशासन र वित्तीय अनुशासनलाई प्राथमिकतामा राखेको बताउनुभयो । 

आइएमएफका तर्फबाट डा. किन्डाले आइएमएफ कार्यकारी बोर्डले विस्तारित ऋण सुविधाको समीक्षा पूरा हुने चरणमा रहेकाले बाँकी रकम छिट्टै निकासा गर्ने जानकारी दिनुभयो । नेपालले वित्त र मौद्रिक नीतिको सुधार तथा वित्तीय अनुशासन कायम गर्ने विषयमा राम्रो प्रगति गरेको उहाँको भनाइ थियो । 

आइएफएफले संरचनात्मक तथा नीतिगत सुधारका क्षेत्र तथा मध्यम अवधिको भुक्तानी सन्तुलन, आन्तरिक राजस्व परिचालन, सार्वजनिक लगानी व्यवस्थापन र वित्तीय जोखिम घटाउन इसिएफ फन्डमार्फत विभिन्न मुलुकलाई आर्थिक सहायता प्रदान गर्दै आएको उहाँले जानकारी गराउनुभएको थियो । विस्तारित कर्जा सुविधा (इसिएफ) अन्तर्गतको उक्त रकम नेपालले बजेटरी सहायता शीर्षकमा राखेर खर्च गर्दै आएको छ ।