• १३ असोज २०८१, आइतबार

हिमाली क्षेत्रमा भेडा पालन घट्दै

blog

किसानले पालन गर्दै आएका भेडा। तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, जेठ २४ गते। हिमाली जिल्ला हुम्लामा भेडा पालन व्यवसाय घट्दो क्रममा रहेको पाइएको छ। चरन समस्या र भेडा पालनलाई व्यावसायिक रूपमा लिन छोडिएपछि बर्सेनि भेडाको सङ्ख्या घट्दो क्रममा रहेको पाइएको हो। 

सर्केगार्ड गाउँपालिका–७ का कृष्ण जैसीले भेडा पालन व्यवसाय घट्दै गएको बताउनुभयो। उहाँले आफ्नो पालामा एउटै घरमा दुई सयसम्म भेडा हुने गरेको भए पनि पछिल्ला वर्षमा त्यो सङ्ख्या २० देखि ३०मा झरेको बताउनुभयो। 

भेडा पालन व्यवसाय घट्दै जानुको कारणमा उहाँले घरका सबै बालबालिका विद्यालय जान थाल्नु, सामुदायिक वनको कारण चरन समस्या र भेडा पाल्नु भन्दा अन्य व्यवसाय वा काम गर्दा फाइदा हुने देखिएपछि व्यावसायिक भेडा पालन कम हुँदै गएको बताउनुभयो। 

यता अदानचुली गाउँपालिका–३ जयबहादुर रोकायाले भेडाको सङ्ख्या घट्दै गएको बताउनुभयो। उहाँले स्थानीयले व्यावसायिक रूपमा भेडा पाल्न छोडेको कारण यसको सङ्ख्या घट्दै गएको बताउँदै भेडा पालन घट्न थालेपछि उनबाट तयार हुने राडी पाखी, लिउ फेरुवाको उत्पादन पनि घट्दो अवस्थामा रहेको बताउनुभयो। 

पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख कृष्णबहादुर रोकायाले पछिल्ला वर्षमा जिल्लाभर भेडाको सङ्ख्या घट्दै गएको बताउनुभयो। उहाँले चार वर्ष अगाडि ५४ हजार ७६४ भेडा जिल्लामा पालन हुँदै आएकोमा  हाल त्यो सङ्ख्या ४० हजार ९४० मा झरेको बताउनुभयो। 

चार वर्षमा बाह्र हजार भन्दा बढी भेडा घट्नु भनेको निक्कै चिन्ताको विषय भएको बताउँदै भेडा पालन किसानलाई आकर्षण गर्ने कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो। उहाँले यसरी घट्दो क्रममा भेडा पालन जानुमा व्यवसायी रूप नलिएको कारण यो समस्या आएको बताउनुभयो। जिल्लाभर भेडा पालन राम्रो हुने भए पनि सर्केगार्ड, चङ्खेली र अदानचुली गाउँपालिकामा बढी पालन हुँदै आएको थियो।