• १३ असोज २०८१, आइतबार

आगलागीले मासिँदै वन

blog

वीरेन्द्रनगर नगरपालिका–७ को गोजेनी जङ्गल नजिक लागेको आगलागी । तस्बिर : रजनी योगी

रजनी योगी

सुर्खेत, जेठ २४ गते । आगलागीबाट बर्सेनि हजारौँ हेक्टरमा वन जङ्गल मासिँदै गएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट ठुलो क्षेत्रमा वन क्षति हुँदै आएको हो। 

वन जङ्गल डढेलोबाट नराम्रोसँग प्रभावित हुने गरेको छ । खासगरी चैत, वैशाख र जेठ महिनामा डढेलो तथा आगलागीको उच्च जोखिम हुने गर्छ । आगलागीबाट हरेक वर्ष हजारौँ हेक्टर जङ्गल नास हुने गरे पनि सरकारले डढेलो नियन्त्रणका लागि खासै प्रभावकारी कदम चाल्न नसकेको सरोकारवालाको गुनासो छ ।

विभिन्न कारणले जङ्गलमा आगलागी हुने गरेपनि कतिपयले जानीजानी आगो लगाइदिने गरेको देखिन्छ । काठ तस्कर, सिकारी, स्थानीय बासिन्दाले पनि आगो लगाउँदा आगलागी हुने गरेको छ । पहाडी क्षेत्रमा राम्रो घाँस पलाओस् भनेर स्थानीयले नै आगो लगाइदिने गरेको पाइएको छ ।

डिभिजन वन कार्यालय सुर्खेतका अनुसार चालु आर्थिक वर्षको हालसम्म सुर्खेत जिल्लामा एक ३५ वटा आगलागीका घटना भएका छन् । आगलागीबाट यो वर्ष मात्र १३ हजार नौ सय २७ हेक्टर वनजङ्गलमा क्षति पुगेको छ । गत वर्षभन्दा आगलागीका घटनामा वृद्धि भएको कार्यालयका डिभिजनल अधिकृत वसन्तबाबु श्रेष्ठले बताउनुभयो ।

सुर्खेत जिल्लामा मात्रै नभएर कर्णाली प्रदेशमा पछिल्लो तथ्याङ्क अनुसार हजारौँ हेक्टर वनजङ्गल मा आगलागी भएर मासिँदै आएको छ । चालु आर्थिक वर्षको हालसम्म प्रदेशभर दुई सय भन्दा धेरै आगलागीका घटना भएका छन् । उक्त आगलागीका घटनाबाट हजारौँ हेक्टर वनजङ्गल नष्ट भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा आगलागीमा परेर १० जनाको मृत्यु भएको छ भने १६ जना आगलागीमा परेर घाइते भएका छन् ।

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी नीरज श्रेष्ठले वनमा लागेको आगोले बर्सेनि क्षति हुँदै आएको बताउनुभयो । उहाँले जिल्लामा रहेका वन डिभिजन कार्यालयमार्फत वनको संरक्षण, संवर्द्धन र आगलागी नियन्त्रणको कार्यक्रम भइरहेको जानकारी दिनुभयो । डिभिजन वन कार्यालयले प्रहरी, सामुदायिक वनका उपभोक्ता समिति, स्थानीयलगायतको समन्वयमा आगलागी हुन नदिन जनचेतना र आगलागी भएपनि नियन्त्रण गर्ने गरेको उहाँको भनाइ छ । 

आगलागीबाट वनजङ्गल मात्र होइन, वातावरणमा समेत नराम्रो असर पर्ने गरेको छ । डढेलोबाट जङ्गल मा भएको रुख, जीव जनावर, बहुमूल्य जडीबुटी मासिँदै आएका छन्। सूचना अधिकारी श्रेष्ठका अनुसार आगलागीको क्षतिको विवरण सङ्कलन भइरहेको छ । गत वर्षभन्दा धेरै नै वनजङ्गल मा क्षति पुगेको उहाँको भनाइ छ ।

वातावरण संरक्षण तथा सरसफाइ प्रवर्द्धन अभियन्ता डा. नवराज केसीले वन जङ्गल मा आगो लाग्दा वातावरणीय रूपमा नकारात्मक असर परेको बताउनुभयो । उहाँले वन जङ्गलमा आगलागी हुँदा जैविक विविधताको विनाश, पारिस्थितिक प्रणालीको विनाश हुनेगरेको जनाउनुभयो । आगलागीले भूक्षयको जोखिम बढेको, बोट बिरुवा नष्ट हुँदा माटो अडाउने केही नहुँदा पहिरो जाने गरेको उहाँको भनाइ छ । पछिल्लो समय जानीजानी मानवीय त्रुटिका कारण आगलागी बढेको उहाँले जानकारी दिनुभयो ।