• ४ पुस २०८१, बिहिबार

लोक सेवा आयोग ७४औँ वार्षिकोत्सव मनाउँदै

blog

काठमाडौँ, जेठ २३ गते । लोकसेवा आयोग आगामी असार १ गते ७४औँ वार्षिकोत्सव मनाउने तयारीमा जुटेको छ । आज बसेको सरोकार भएका व्यक्तिको बैठकमा ७४औँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाइने जानकारी दिइएको हो ।

आयोगले निजामती सेवाका साथै सङ्घीय सरकारी सेवा, सुरक्षा निकाय र अन्य सरकारी सेवा तथा सङ्गठित संस्थामा पदपूर्तिका लागि परीक्षा सञ्चालन गर्दै आएको छ । आयोगले हरेक आर्थिक वर्षको पहिलो दिन पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गर्दै आएको छ । योग्यता, निष्पक्षता र स्वतन्त्रतालाई मूल मर्म बनाउने भएकाले आयोगका परीक्षालाई विश्वसनीयताको कसीबाट हेर्ने गरिएको छ । 

यसैबिच, यस वर्षको वार्षिकोत्सव मनाउनका लागि एउटा मूल समारोह समिति र चारवटा विभिन्न उप-समिति गठन भएको छ । सो सन्दर्भमा विभिन्न नारासमेत तय गरिएको आयोगले जनाएको छ । आयोगका सदस्य एवम् अतिथि सत्कार तथा प्रचारप्रसार समितिका संयोजक वीरबहादुर राईको संयोजकत्वमा बसेको बैठकले ७४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको छ ।

सो सन्दर्भमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोगको कार्यसम्पादन र गतिविधिका विषयमा सम्बन्धित विषय विज्ञका अन्तर्वार्ता र मूल कार्यक्रमसहित समाचार सम्प्रेषण गर्नेछ । साथै नेपाल टेलिभिजन र रेडियो नेपालले परिसंवाद र अन्तरसंवादसम्बन्धी कार्यक्रम उत्पादन र प्रचारप्रसार गर्ने छन् । गोरखापत्र दैनिकले आयोगबाट भएका कामकारबाहीसहित प्रकाशकीय सामग्री प्रकाशित गर्नेछ । 

विज्ञापन बोर्डमार्फत सरकारी तथा निजी सञ्चार माध्यमबाट लोक कल्याणकारी विज्ञापनका रूपमा आयोगको सन्देश प्रवाह हुने संयोजक राईले जानकारी दिनुभयो । आयोगको ६४औँ वार्षिक प्रतिवेदनअनुसार, सङ्घमा ५३ हजार ७६, सात प्रदेशमा जम्मा १७ हजार २३ र सात सय ५३ स्थानीय तहमा ६५ हजार छ सय चार स्वीकृत दरबन्दी रहेको छ । 

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० को अवधिमा आयोगबाट पाँच सय तीन बढुवा सूचना, एक सय ४७ आन्तरिक प्रतियोगितात्मक परीक्षा, दुई सय ९९ खुला प्रतियोगितात्मक परीक्षा र छ सय ६७ वटा विभिन्न समावेशी समूहका विज्ञापन र बढुवाका लागि सूचना प्रकाशित भएको थियो । सो अवधिमा उक्त विज्ञापनबाट बढुवातर्फ नौ सय ९०, आन्तरिकतर्फ दुई सय ८१, खुलातर्फ एक हजार ८० तथा महिला, आदिवासी, जनजाति, मधेशी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रका समावेशी प्रतियोगितातर्फ एक हजार छ सय पदका लागि दरखास्त माग गरिएको थियो । 

राष्ट्रपतिबाट संवैधानिक परिषद्को सिफारिसमा आयोगका अध्यक्ष र चारजना सदस्य नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । आयोगले आफूले गरेको कामकारबाहीको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ । आजको बैठकमा आयोगका सचिव राजकुमार श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्ड नेपाल र सरकारी सञ्चारमाध्यमका प्रतिनिधिहरू सहभागिता हुनुहुन्थ्यो । रासस