• ७ असार २०८१, शुक्रबार

जैविक मल उत्पादनमा जोड

blog

एकीकृत कृषि तथा पशुपन्छी अनुसन्धान केन्द्रमा उत्पादन गरिएको विभिन्न नर्सरीको रेखदेख गरिँदै । तस्बिर: गोरखापत्र

ताप्लेजुङ, जेठ २३ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले जैविक मल उत्पादनलाई जोड दिएको छ । स्वास्थ्यकर अर्ग्यानिक उपभोग्य वस्तु उत्पादन गर्ने योजनासहित गाउँपालिकाले जैविक मल उत्पादनमा जोड दिने भएको हो ।

जैविक मल उत्पादन गर्ने योजनाअनुसार गाउँपालिकाले स्थानीय किसानलाई मल उत्पादनका लागि प्रोत्साहित तथा उत्प्रेरित गर्ने भएको छ । फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार जैविक मल उत्पादनका लागि पालिकाभित्रका किसानहरूलाई तालिम दिने तयारी गरिएको छ । विदेशी विज्ञको उपस्थितिमा जैविक मल उत्पादनसम्बन्धी किसानलाई तालिम दिन लागिएको अध्यक्ष लिम्बूले बताउनुभयो । जैविक मल उत्पादन गर्नमा सहयोग पुर्याउन किसानलाई अनुदानको व्यवस्थासमेत गर्न लागेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका सूचना अधिकारी जयप्रसाद रिजालका अनुसार बिहीबारदेखि स्थानीय किसानलाई जैविक मल उत्पादनसम्बन्धी तालिम प्रदान गर्न लागिएको छ । गाउँपालिकाका ७ वटै वडाबाट २–२ जनाका दरले किसानलाई जैविक मल उत्पादन सम्बन्धी तालिम प्रदान गर्न लागेको उहाँले जानकारी दिनुभयो । प्रतिनिधिमूलक रूपमा प्रत्येक वडाबाट सहभागी हुने दुई जना किसानले तालिम प्राप्त गरेपछि सम्बन्धित वडाका अन्य किसानलाई जैविक मल उत्पादनबारे जानकारी दिने र मल उत्पादनतर्फ प्रेरित गर्नुपर्ने छ ।

गाउँपालिकाले चालू आर्थिक वर्षमा जैविक मल उत्पादन कार्यक्रमका लागि प्रत्येक वडालाई दुई लाख रुपियाँका दरले रकम विनियोजन गरेको जनाएको छ । रासायनिक मललाई विस्थापन गरी जैविक मल उत्पादन र प्रयोगतर्फ किसानलाई प्रोत्साहित गर्ने पालिकाको नीतिअनुरूप यस कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले हिमालय एग्रो इकोलोजी नामक संस्थाको प्राविधिक सहयोगमा विगतदेखि नै अर्ग्यानिक कृषि उत्पादनसम्बन्धी अभियान सञ्चालन गरिरहेको छ । त्यस्तै पालिकाले एकीकृत कृषि तथा पशुपन्छी अनुसन्धान केन्द्रसमेत स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।