• २२ असार २०८१, शनिबार

घरबासले फेर्दै छ थारू महिलाको जीवन

blog

मीना कँडेल

कावासोती, जेठ २२ गते । नवलपुरको देवचुली नगरपालिका–१७ मा रहेको पिप्रहर सामुदायिक होमस्टेमा पर्यटकको चहलपहल बढ्न थालेको छ । स्थानीय रहनसहन, संस्कृतिलाई नजिकबाट नियाल्न होमस्टे पुग्ने पर्यटक बढेका छन् । 

केही वर्षपहिलेसम्म घरधन्दा र खेतीपातीमै सीमित रहने देवचुली नगरपालिका–१७ का महिलाको दैनिकी अहिले भने फेरिएको छ । नयाँ मानिसका अगाडि उभिन डराउने महिला अहिले सबैको अगाडि निर्धक्कसँग बोल्न सक्ने भएका छन् । महिलामा परिवर्तन हुनुमा देवचुली नगरपालिका–१७ मा सञ्चालन भएको पिप्रहर सामुदायिक होमस्टे ग्राम अर्थात् घरबास हो ।

घरबास सञ्चालनको सबै जसो जिम्मा महिलाकै हातमा छ । पाहुनाको स्वागत, खानपानदेखि सांस्कृतिक प्रस्तुतिलगायतका काम महिला मिलेर गर्छन् । पुरुषले पनि उनीहरूलाई सघाउँछन् । घरबास सञ्चालकको अध्यक्ष, सचिव र व्यवस्थापक महिला नै रहेर कार्य गरिरहेका छन् । परिवारको साथ, महिलाको आत्मविश्वास अनि समाजको प्रोत्साहनबाटै महिलालाई नेतृत्व तहमा पुर्‍याउन सकिने महिलाले बताउने गर्छन् । 

नवलपुरको देवचुली–१७ निवासी चन्द्रामाया महतोलाई अहिले घरखर्च कसरी चलाउने भन्ने चिन्ता छैन । २०७२ सालमा घरबास सञ्चालन सुरु भएदेखि उहाँलाई घरखर्च चलाउन कुनै समस्या नभएको बताउनुहुन्छ । “पहिले केही खेतीपातीबाट आम्दानी हुन्थ्यो, त्यसैको भर थियो, अहिले घरबास सञ्चालनपछि पाहुनाको स्वागत गर्‍यो, आम्दानी पनि भएकै छ,” घरबास सञ्चालक चन्द्रामाया महतोले भन्नुभयो ।  

घरबासका सचिव चिरञ्जीवी चौधरीले प्रकृति र संस्कृतिको संरक्षण गर्दै समुदायको विकास र जीवनस्तर उकास्ने घरबास सहयोगी भएको बताउनुभयो । उहाँले भन्नुभयो  “पर्यटकको अर्को आकर्षण भनेको जिप सफारी हो । मध्यवर्ती क्षेत्रमा गैँडा, मृग, हरिण, बँदेल, मयूर, नारायणी नदीमा गोही, विभिन्न प्रजातिका चराचुरुङ्गी सफारीमा देख्न पाइन्छ । यहाँ आउने पाहुनाले घरकै स्वाद र घरमै बसे जस्तो अनुभव गर्न पाउँछन् । अर्कातर्फ गाउँबस्तीमा पसेर दुःख दिने जङ्गली जनावर देखाएरसमेत आम्दानी भएको छ ।” पिप्रहर सामुदायिक होमस्टे ग्रामका व्यवस्थापक केवलकुमारी गुरौले घरबास सञ्चालन भएपछि यहाँका महिलाको क्षमता विकासमा मात्रै होइन आत्मनिर्भर बन्न र गाउँकै विकास गर्न टेवा पुर्‍याएको बताउनुभयो । २०७२ सालमा पाँच घरबाट सुरु गरिएको होमस्टे अहिले २२ घरमा सञ्चालन भएको छ ।