म्याग्दी समाचारदाता
म्याग्दी, जेठ २१ गते । म्याग्दीको मङ्गला गाउँपालिकाले महिलालाई बाख्रापालनसम्बन्धी तालिम प्रदान गरेको छ । राष्ट्रपति महिला उत्थान सुधार कार्यक्रम अन्तर्गत एकल महिला, अपाङ्गता भएका महिला र विपन्न वर्गका महिलालाई लक्षित गरेर व्यावसायिक बाख्रापालनसम्बन्धी तालिम प्रदान गरिएको हो ।
मङ्गला गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र मिलन म्याग्दीको आयोजनामा एक हप्तासम्म चलेको व्यावसायिक बाख्रापालन तालिमले महिला व्यावसायिकतातर्फ अग्रसर हुने अपेक्षा गरिएको छ । तालिमपछि व्यवसाय सञ्चालन गर्न लगाउने र उनीहरूलाई पेसा तथा व्यवसायमार्फत आत्मनिर्भर बनाउने उद्देश्य बाख्रापालन तालिम दिइएको मङ्गला गाउँपालिकाले जनाएको छ ।
तालिममा बाख्राको जात, खोर तथा आहार व्यवस्थापन, प्रजनन क्षमता, घाँस खेती, रोग तथा उपचार, जोखिम न्यूनीकरणलगायतका विविध विषयमा सहजीकरण गरिएको थियो ।