काठमाडौँ, जेठ २१ गते । ‘खाद्य स्वच्छतामा लगानी बढाऔँ, अप्रत्याशित अवस्थाको पूर्वतयारी गरौँ’ भन्ने नाराका साथ विश्व खाद्य स्वच्छता दिवस, २०८१ सुुरु भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शनिबारदेखि खाद्य स्वच्छता दिवसमा विगतकै जस्तै साताव्यापी कार्यक्रम सुरु गरेको हो ।
विभाग अनुसार साताव्यापी रूपमा मनाइने सो दिवसका अवसरमा जेठ १९ देखि २५ गतेसम्म खाद्य सुरक्षासँग सम्बन्धित विषयविज्ञसँग छलफल, गोष्ठी र विभिन्न सचेतनामूलक कार्यक्रम गरिने छ । विभागका निर्देशक मोहनकृष्ण महर्जनले प्रत्येक वर्ष जस्तै यो वर्ष पनि खाद्य स्वच्छता दिवस सप्ताहव्यापी रूपमा शनिबारदेखि सुुरु भएको जानकारी दिनुुभयो ।