तिलाचन पाण्डे
तम्घास, जेठ २० गते । गुल्मीमा पाँच सय बढी रोपनी बाँझो जग्गा लिजमा लिई ताजा तरकारी खेती गरिएको छ । पैँचो नमुना कृषि उत्पादन केन्द्रले जिल्लाका तीन स्थानमा पाँच सय रोपनी बढी जग्गा भाडामा लिई ताजा तरकारी लगाएको पैँचो पसलका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपानेले जानकारी दिनुभयो ।
जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर पाँच खरज्याङमा ६० रोपनी जग्गामा विभिन्न जातका टमाटर, गुल्मीदरबार गाउँपालिका वडा नम्बर ३ को पुर्खेमा १५० रोपनी जग्गामा टमाटर र मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौरमा तीन सय रोपनी जग्गामा अकबरे खुर्सानी र काक्रा लगाइएको न्यौपानेले बताउनुभयो ।
पाँच सय रोपनी जग्गा व्यवस्थापन गर्नका लागि करिब एक करोड ५० लाख रुपियाँ खर्च भएको र तीन सय बढीले प्रत्यक्ष रुपमा रोजगारी पाएको उहाँको भनाइ छ । गाउँमा रहेको बाँझो जग्गालाई लिजमा लिई बसाई सराई कम गर्नका लागि थप टेवा पुग्ने गरी आफूहरुले काम गर्दै आएको न्यौपानेले बताउनुभयो ।
विगत १० वर्षदेखी आफूहरुले पैँचो पसल प्रालि चलाउँदै आएको अनुभवलाई कृषि क्षेत्रको उत्पादनमा प्रयोग गर्ने गरी योजना बनाएको बताउँदै न्यौपानेले पैँचोलाई देशभर फैलाउने लक्ष्य रहेको बताउनुभयो ।
छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले पैँचोसँग सहकार्य गरेर काम गर्न आफूहरु तयार रहेको बताउनुभयो । पैँचोको निरन्तरताले नेपालका पहाडी क्षेत्रबाटै कृषिबाट आत्म निर्भर बन्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेकोे बताउँदै उहाँले निजी क्षेत्रहरु र सहकारीलाई साथमै लिई बजारीकरणको काम गर्न सक्ने योजना पनि सुनााउनुभयो ।