• १२ पुस २०८१, शुक्रबार

नासु पदका थापाको अस्वाभाविक सम्पत्ति, झण्डै २ करोड बिगो

blog

काठमाडौँ, वैशाख १२ गते । भन्सार जाँचपास परीक्षण कार्यालय, तीनकुने काठमडौँका नायब सुब्बा (नासु) पदमा कार्यरत (हाल निलम्बन) देवीबहादुर थापाले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । 

थापामाथि उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा थापा मिति २०५६।०४।०५ गते विचारी पदमा सेवा प्रवेशदेखि २०७५–०७६ सम्मको जाँच अवधिमा निजले र निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकमले आफू, बाबु, आमा र श्रीमतीको नाममा घरजग्गा खरिद गर्नुका साथै कम्पनी तथा फर्महरु दर्ता गरी परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको उल्लेख गरेको छ ।

साथै थापाले परिवारका सदस्यको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरु तथा कम्पनीहरुका संस्थापक एवं साधारण शेयरहरु खरिद लगानी लगायतका चलअचल सम्पत्ति खरिद, विभिन्न उद्योग तथा फर्महरुमा लगानी, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रकम जम्मा एवं घर निर्माण लगायतका शीर्षकमा तीन करोड ८९ लाख ४५ हजार पाँचसय ८८ रुपियाँ खर्च गरेको देखिएको छ ।

निजको वैध आय दुई करोड एक लाख ९८ हजार चार सय ३९ रुपियाँ भएको र एक करोड ८७ लाख ४७ हजार एक सय ४९ रुपियाँ बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको अख्तियारले ठहर गरेको छ । अख्तियारले निज थापाले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा १० बमोजिमको कसुर गरेको हुँदा निजलाई बिगो बराबरको बमोजिमको जरिवाना र कैद सजाय हुन माग दाबी पनि गरेको छ । 

साथै, अख्तियारले निज थापाले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी  बाबु कृष्णबहादुर थापा, आमा चन्द्रमाया र श्रीमती विमला राउतको नाममा राखेको स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनको लागि कानुन बमोजिम निजहरुलाई समेत प्रतिवादी कायम गरी निजहरुको नाममा रहेको सम्पत्ति जफत हुने मागदावी गर्दै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।