• २ माघ २०८१, बुधबार

गुल्मीमा होटल व्यवस्थापनसम्बन्धी तालिम

blog

रमेश विश्वकर्मा
गुल्मी, जेठ १९ गते ।
गुल्मीको तम्घासमा होटल व्यवसायीलाई तालिम प्रदान गरिएको छ । यस जिल्लाका होटल व्यवसायीलाई साना तथा मझौला होटल व्यवस्थापनसम्बन्धी एक हप्तासम्म तालिम प्रदान गरिएको हो ।

पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशको आयोजना एवम् होटल व्यवसायी गुल्मीको समन्वयमा जेठ १२ गतेदेखि १८ गतेसम्म साना तथा मझौला होटल व्यवस्थापनसम्बन्धी तालिमा प्रदान गरिएको हो । त्यस अवसरमा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले पर्यटन नै समृद्धिको आधार भएकाले होटल व्यवसाय पनि एक महत्त्वपूर्ण मेरुदण्ड रहेको बताउनुभयो । तालिमबाट सिकेका कुराहरुलाई आफ्नो पेसा व्यवसायमा व्यवहारिक रुपमा लागू गर्न जरुरी रहेको बताउनुभयो ।

तालिममा सहभागी होटल व्यवसायी हरि खत्रीले आफुहरुको सिप र क्षमता विकासमा तालिमले सहयोग पुर्‍याएको बताउनुभयो । उहाँले पहिलो पटक तालिम लिन पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता तालिमहरु सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । तालिममा सहभागी कृष्णकुमारी श्रेष्ठ र सिद्धबाबा माध्यमिक विद्यालयका होटल म्यानेजमेन्टका विद्यार्थी राजेन्द्र खत्रीले तालिमबाट नयाँ कुरा सिक्ने अवसर प्राप्त भएको बताउनुभयो ।

होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष जंगबहादुर कुँवरले जिल्लाका विभिन्न स्थानहरुमा समय–समयमा यस्ता तालिमहरु आयोजना गर्दै आएको भन्दै अझै यहाँका होटल व्यवसायीलाई सक्षम बनाउन आगामी दिनमा पनि तालिमको आवश्यकता रहेको बताउनुभयो ।

समयानुकूल होटल व्यवसाय सञ्चालनका लागि तालिम अति नै आवश्यक रहेको भन्दै पर्यटनको एक महत्त्वपूर्ण भाग होटल व्यवसाय भएकाले गुल्मी आउने पर्यटकलाई होटलबाट प्रवाह गरिने सेवा र सुविधाले नै थप पर्यटकहरु ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न जरुरी रहेको बताउनुभयो ।

होटल व्यवसाही मञ्च गुल्मीका संस्थापक अध्यक्ष युवराज भण्डारीले जिल्लाका विभिन्न स्थानमा पुगेर तालिम सञ्चालन गर्दै आइरहेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशका अधिकृत विष्णुप्रसाद भुसालले यस प्रदेशका विभिन्न जिल्लाहरुमा समय समयमा होटल व्यवसायीहरुको क्षमता अभिवृद्धि र व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गर्दै आइरहेको भन्दै तालिमबाट सिकेका ज्ञान र सीपलाई प्रयोगमा ल्याई आफ्नो व्यवसाय विस्तारका लागि आग्रह गर्नुभयो ।