जयमान बुढामगर
रुकुमपूर्व, जेठ १९ गते । रुकुमपूर्व, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको राजस्व हरेक वर्ष बढ्ने क्रममा छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म चार करोड ४८ लाख १५ हजार राजस्व सङ्कलन भएको छ । गत वर्ष तीन करोड ४८ लाख मात्रै राजस्व सङ्कलन भएको थियो तर यो वर्षको असारसम्ममा गत वर्षको दोब्बर राजस्व सङ्कलन हुने अपेक्षा छ ।
कोरोना सङ्क्रमण, स्थानीयको विवादलगायतका कारण सिकारी आउन नसक्दा राजस्व सङ्कलन घटेको थियो । सहज यात्रा गर्दै सिकार गर्न पाउने अवस्था भएर बढीबढाउमा सिकारी छानिने अवसरले राजस्व बढेको हो ।
आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले चालु आवका दुई सिजनमा गरी ढोरपाटनमा ३० वन्यजन्तुको सिकार भएको छ । सिकार अनुज्ञापत्र शुल्कबाट मात्रै चार करोड २६ लाख राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । त्यसबाहेक पर्यटक प्रवेश शुल्कबाट ११ लाख ६५ हजार, काठ, नदीजन्य वस्तु र जरिबानाबाट नौ लाख चार हजार र हेलिकोप्टर अवतरण गराएबापत ५७ हजार राजस्व सङ्कलन भएको हो ।
गत वर्ष सात हजार ६४५ पर्यटक मात्रै आएकोमा चालु वर्ष नौ हजार ४३६ पर्यटक आएको तथ्याङ्क छ । सिकार भने गत वर्ष पनि ३० वटै भएका थिए । सिकारका लागि आरक्षले तोकिएको कोटामा बढीबढाउ गरेर सिकारी छानिने प्रावधान छ ।
वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले कोटाको आधारमा सिकारीको टेन्डर खुलाउने गरेको छ । त्यसअघि आव २०७८/७९ मा भने नौ हजार ९१९ पर्यटक आए पनि राजस्व भने एक करोड ७५ लाख ७७ हजार मात्रै सङ्कलन भएको थियो । कोरोना सङ्क्रमणका कारण आव २०७६/७७ मा ३७ लाख र आव २०७७/७८ मा २० लाख मात्रै सङ्कलन भएको थियो ।
कोरोनापछि राजस्व सङ्कलन बढिरहेको हो । चालु वर्षको दुई सिजनमा गरी १९ वटा नाउर र ११ झारलको सिकार भएको छ । आरक्षमा सात वटा सिकार ब्लक रहेको छ ।