• ९ असार २०८१, आइतबार

विश्व सूर्तीजन्य पदार्थविरुद्धको दिवस

सूर्तीले नेपालमा वार्षिक ३९ हजारको मृत्यु : कुन अंगमा कस्तो असर गर्छ ?

blog

काठमाडौँ, जेठ १८ गते। पछिल्लो समय सूर्तीजन्य पदार्थको सेवनले नसर्ने रोगको जोखिम बढ्दै गएको छ। नेपालमा कुल जनसङ्ख्याको २८.९ प्रतिशतले सूर्तीजन्य पदार्थको सेवन गर्ने गरेको तथ्याङ्कले देखाएको छ। जसमा सबैभन्दा बढी पुरुष ४८.३, महिलाको सङ्ख्या ११.६ प्रतिशत रहेको छ।

स्वास्थ्य प्रवर्द्धन तथा सूर्तीजन्य पदार्थ नियमन शाखा प्रमुख डा. भक्तबहादुर केसीले नेपालमा ३९ हजार मानिसको मृत्यु सूर्तीजन्य पदार्थको सेवनको कारणले हुने बताउनुभयो। जुन कुल मृत्युको करिब १८ प्रतिशत हो। मृत्यु हुनेमा सबै भन्दा बढी मुटुसम्बन्धी रोगका कारण २८ प्रतिशत अर्थात् सात हजार ५९८ मानिसको मृत्यु सूर्तीजन्य पदार्थको सेवनले हुने गर्छ। 

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार सूर्तीजन्य पदार्थको सेवन गर्नाले प्रत्येक वर्ष विश्वमा ८० लाख मानिसको अकालमा मृत्यु हुने गर्छ। जसमध्ये ७० लाख प्रत्यक्ष सूर्तीजन्य पदार्थको सेवन र १२ लाख चुरोटको धुवाँको असरका कारण मृत्यु हुने तथ्याङ्कले देखाएको छ। 

प्रत्येक वर्ष विश्वमा ८० लाख मानिसको अकालमा मृत्यु हुने गर्छ। जसमध्ये ७० लाख प्रत्यक्ष सूर्तीजन्य पदार्थको सेवन र १२ लाख चुरोटको धुवाँको असरका कारण मृत्यु हुने तथ्याङ्कले देखाएको छ। 

विश्व स्वास्थ्य सङ्गठनको सन् २०१८ को तथ्याङ्क अनुसार नेपालमा प्रत्येक दिन सूर्तीजन्य पदार्थको सेवनले ७५ देखि ८० जना मानिसको मृत्यु हुने अनुमान गरेको छ। 

क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही सूर्तीजन्य पदार्थको सेवनले फोक्सो, मुख, जिब्रो लगायतको क्यान्सर र विभिन्न प्रकारका दीर्घरोगको जोखिम बढ्ने बताउनुहुन्छ। 

सूर्तीजन्य पदार्थले कुन अंगमा कस्तो असर गर्छ ?

चिकित्सकका अनुसार सूर्तीजन्य पदार्थको सेवाले शरीरका सबै अङ्गमा असर गर्छ। धुम्रपान गर्दा फोक्सोको क्यान्सर निम्त्याउने सम्भावना २२ गुणले बढाउने गर्छ।

डा. शाहीका अनुसार सूर्तीजन्य पदार्थको सेवनले सबै भन्दा बढी असर फोक्सोमा गर्छ। डा. शाही भन्नुहुन्छ, ‘फोक्सोमा क्यान्सर भएका एक सय जनामध्ये ९० जनाको सूर्तीजन्य पदार्थको सेवनले भएको विभिन्न अध्ययनले देखाएको छ।’ 

चिकित्सकका अनुसार सूर्तीजन्य पदार्थको सेवाले शरीरका सबै अङ्गमा असर गर्छ। धुम्रपान गर्दा फोक्सोको क्यान्सर निम्त्याउने सम्भावना २२ गुणले बढाउने गर्छ।

त्यो बाहेक मुख, जिब्रो, ओठ, घाँटी, ब्रेन, खाना नली, मिर्गौला, मलद्वार, पाठेघर, कलेजो, लगायतका १७ वटा अङ्गमा क्यान्सर हुने डा. शाहीले जानकारी दिनुभयो।  सूर्तीजन्य पदार्थको सेवन युवापुस्तामा बढेसँगै उनीहरू ३० देखि ३५ वर्षको उमेरमा पुगिसक्दा दीर्घरोगको सिकार हुने उहाँको तर्क छ। क्षयरोग, दम, मुटु, श्वासप्रश्वास सम्बन्धी समस्या, मिर्गौला बिग्रने जस्ता दीर्घ स्वास्थ्य समस्याको जोखिम पनि बढाउने डा. शाहीको भनाइ छ। 

उहाँ भन्नुहुन्छ, ‘सूर्तीजन्य पदार्थको सेवन दैनिक १० वर्ष १५ वर्ष गरेको मानिसमा यसमा पाइने रसायनले डिएनएमा असर गर्ने उहाँ बताउनुहुन्छ। यसले गर्दा यदि कुनै पनि कारणले हाम्रो शरीरमा भएको कोशिका बिग्रियो वा खराब भयो भने रिपियर हुन सक्दैन।’ 

 सूर्तीजन्य पदार्थले गर्भवतीमा कस्तो असर गर्छ ?

सूर्तीजन्य पदार्थ सेवनले गर्भवतीबाट कम तौल भएको बच्चा, मृत बच्चा जन्मिने, समय अगावै बच्चा जन्मिने डा. शाही बताउनुहुन्छ। 

उहाँ भन्नुहुन्छ, ‘अभिभावकले सूर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिकामा दम, निमोनिया, ब्रोन्काइटिस जस्ता श्वासप्रश्वास सम्बन्धी समस्या देखिने, कानको सङ्क्रमण भई श्रवण शक्तिमा समस्या हुने सम्भावना बढ्छ।’

के हुन्छ सूर्तीजन्य पदार्थमा ? 

चुरोट बाल्दा त्यसबाट सात हजार रसायन निस्कने गर्दा त्यसले शारीरिक र मानसिक रूपमा असर पुर्‍याउने डा. शाही बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ,‘सूर्तीजन्य पदार्थमा सात हजार भन्दा बढी दीर्घ रोग बनाउने तत्त्व हुन्छ। त्यसैगरी ७० भन्दा बढी निकै हानिकारक रसायन हुने गर्दछन्।’ 

सूर्तीजन्य पदार्थमा पाइने खोटो र कार्बन मनोअक्साइड जस्ता प्राणघातक रसायन पाइन्छन् भने निकोटिन जस्ता धुम्रपानको लत लगाउने तत्त्व पनि पाइने डा. शाहीको भनाइ छ।  

सूर्तीजन्य पदार्थ छोड्दा हुने फाइदा 

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार धुम्रपान छोडेको केवल २० मिनेटपछि मुटुको धड्कनको गति र रक्तचाप बिस्तारै घट्दै जान्छ। १२ घण्टामा रगतमा कार्बन मोनोक्साइडको मात्रा सामान्य अवस्थामा आउँछ। दुईदेखि १२ हप्तामा रक्त सञ्चारमा सुधार हुन्छ र फोक्सोले पनि राम्रोसँग काम गर्न थाल्छ। एक वर्षमा मुटु तथा रक्त नलीको रोग हुने जोखिम धुम्रपान गर्ने व्यक्तिको भन्दा लगभग आधा हुन्छ। 

डब्लुएचओका अनुसार धुम्रपान छोडेको पाँचदेखि १५ वर्षमा मस्तिष्कघात हुनसक्ने जोखिम धुम्रपान नगर्ने व्यक्ति सरह हुनजान्छ। 

डब्लुएचओका अनुसार धुम्रपान छोडेको पाँचदेखि १५ वर्षमा मस्तिष्क घात हुनसक्ने जोखिम धुम्रपान नगर्ने व्यक्ति सरह हुनजान्छ। चुरोट खान छाड्ने १० मध्ये ९ जना व्यक्तिलाई क्यान्सरबाट बचाउन सकिने उहाँले बताउनुभयो। अध्ययनले चुरोट बन्द गरेको १० वर्षमा हृदयाघात र मुटुसम्बन्धी रोगको सम्भावना घटेर चुरोट कहिल्यै सेवन नगरेको व्यक्ति जत्तिकै हुने अध्ययनले देखाएको छ।

सूर्तीजन्य पदार्थको बेचबिखन तथा प्रयोग गर्न हतोत्साहित गर्ने कानुनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा डा.भक्तबहादुर केसीले जोड दिनुभयो। 

यसको बिक्री वितरण नियन्त्रण गर्न सूर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन ) सम्बन्धी ऐन ल्याएको छ। जसमा अठार वर्ष नपुगेका व्यक्ति र गर्भवती सूर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न नपाउने, उद्योगले प्याकेटमा जनचेतन मूलक सूचना टाँस गर्नुपर्ने, उत्पादकले कम्तीमा २० खिल्ली अटाउने गरी चुरोट वा बिँडीको प्याकेट तयार गर्नुपर्ने उक्त ऐनमा उल्लेख गरेको छ। सर्वोच्च अदालतबाट सूर्तीजन्य पदार्थको बट्टा तथा बाहिरी आवरणको ९०% भाग ढाकिने गरी धूम्रपानको असर देखिने दृश्य तथा चेतनामूलक सन्देश राख्न नेपाल सरकारका नाममा आदेश समेत जारी गरेको छ। 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।