• १३ असार २०८१, बिहिबार

मध्यपुरमा लोकेश्वरको खट यात्रा

blog

मध्यपुर थिमि (भक्तपुर), जेठ १८ गते । उपत्यकाका पाटन, काठमाडौँ, नाला र चोभारका मत्स्येन्द्रनाथ अर्थात् लोकेश्वर जस्तै मध्यपुर थिमिमा पनि लोकेश्वरको खट यात्रा शताब्दीदेखि हुँदै आएको छ । मध्यपुर थिमिको मरु टोलस्थित हेमवर्ण महाविहारमा लोकेश्वर राखिएको छ । यहाँका लोकेश्वरलाई पद्मपाणि लोकेश्वर भनिन्छ ।

मन्दिरका पुजारी धर्मसुन्दर वज्राचार्यका अनुसार थिमिको करुणामय ललितपुरकै हो भन्ने जनश्रुति रहेको छ । ललितपुरका वज्राचार्यहरू थिमिमा बसोबास गर्न थालेपछि सो जात्रा सुरु भएको अनुमान उहाँको छ । मध्यपुर थिमि भनेको किराँतकालीन बस्ती भएको विभिन्न अभिलेखमा उल्लेख गरिएको छ । तथापि लोकेश्वरको स्थापना र जात्राका सम्बन्धमा कुनै तिथिमिति जानकारीमा नभएको पुजारी वज्राचार्यले बताउनुभयो ।

उहाँका अनुसार पाटनको रातो मत्स्येन्द्रनाथ पनि पद्मपाणि लोकेश्वर नै हुन् । दुवै लोकेश्वरको वर्ण रातो रहेको छ । अतः दुवैलाई रातो मत्स्येन्द्रनाथ पनि भन्ने गरिन्छ । यो लोकेश्वरलाई पनि महास्नान अर्थात् ‘न्हवं’ गर्दा रातो र सेतो मत्स्येन्द्रनाथलाई जस्तै दुध, दही, घिउ, मह र पानीले स्नान गराइन्छ । पुजारी वज्राचार्यका अनुसार हेमवर्ण विहारमै यसरी महास्नान गराइसकेपछि जिस्वां बहाल भन्ने अर्को बहालमा लगी घाममा सुकाइन्छ । त्यसपछि रङरोगन हुन्छ । रङरोगनपछि मानिसलाई जस्तै न्वारान, इही, बाह्राः, चुडाकर्म जस्ता केटा र केटी दुवैलाई गरिने संस्कार गरिन्छ । यसलाई १० कर्म संस्कार गरिने भनिन्छ । त्यसपश्चात् मूर्तिमा जीवन्यास गरिन्छ ।

यी कार्य सम्पन्न भएपछि सिथि नखः अर्थात् कुमार षष्ठीका दिन मूर्तिलाई वस्त्र र गरगहनाद्वारा सजाई सानो खटमा राखेर स्थानीय गणेशपाटीमा विराजमान गराइन्छ । त्यहाँ यो देवतालाई थिमि, बोदे, नगदेश क्षेत्रका स्थानीयवासीले यसै वर्ष आआफ्नो खेतबारीमा उब्जनी भएका तरकारी, खाद्यान्न आदि चढाउने गर्छन् । सिथि नखःकै दिन यो देवताको जात्रा हुन्छ ।

जात्रामा रातो र सेतो मत्स्येन्द्रनाथको जस्तो ठुलो रथ तान्ने गरिँदैन । देवतालाई सानो खटमा राखी बोकेर थिमिको बालकुमारीसम्म परिक्रमा गराइन्छ । यसमा विभिन्न बहालबाट आउने बाजागाजा पनि सहभागी भएका हुन्छन् ।

भजन गुरु गणेशराम प्रजापतिका अनुसार सिथि नखःका दिन जात्रा हुने भएकाले यो देवतालाई स्थानीय थिमिवासीले ‘सिथिद्यः’ भन्ने गरेका छन् । लोकेश्वरका रूपमा चाहिँ ‘लोकनाद्यः’ भनिन्छ । लोकेश्वरलाई नै सिथिद्यःका रूपमा पूजा गर्ने चलन थिमिमा मात्रै रहेको पाइन्छ । काठमाडौँमा सिथिद्यः भन्नाले छुट्टै देवता रहेको हुन्छ । खास गरी कार्तिकेय कुमारलाई नै नेवार समुदायले सिथिद्यः भनी मान्दै आएको छ । उहाँका अनुसार काठमाडौँमा सिथिद्यःको महास्नान र थिमिमा लोकनाद्यःको महास्नान एकै दिन गरिन्छ । सिथिद्यःको वर्ण पनि रातो नै हुन्छ । थिमिको लोकेश्वरलाई सिथि नखःका दिन जात्रा गरी पुनः बहालमा फर्काएर आसनमा विराजमान गराइन्छ । त्यसपछि यो वर्षको जात्रा समापन हुन्छ ।

करुणामयको नयाँ मन्दिर

मध्यपुर थिमिस्थित करुणामय लोकेश्वर (रातो मत्स्येन्द्रनाथ) का लागि नयाँ मन्दिर निर्माण गरिने भएको छ । सो मन्दिरको जीर्णोद्धारका लागि बिहीबार शुभ साइत गरिएको छ । मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मन्दिरको शिलान्यास गर्नुभयो । करुणामय लोकेश्वर मन्दिर जीर्णोद्धार उपभोक्ता समितिका अध्यक्ष न्हुछेराज वज्राचार्यका अनुसार भत्किने अवस्थामा रहेको मन्दिर स्थानीय तथा मध्यपुर थिमि नगरपालिकाको पहलमा पुनर्निर्माण गर्न लागिएको हो । अध्यक्ष वज्राचार्यले पद्मपाणि लोकेश्वर (करुणामय) नामबाट प्रचलित मध्यपुर थिमि मरु टोलस्थित लोकेश्वर थिमिको एउटा सांकृतिक धरोहर रहेको बताउनुभयो ।

उहाँका अनुसार पाटनको (बुङ्मती) करुणामय र यो करुणामय एउटै हो भन्ने जनविश्वास रहेको छ । सो मन्दिरबाट पुराना धेरै मूर्ति र सामग्री चोरी भएकाले संरक्षणका लागि मन्दिरलाई फलामको बारले घेरिएको छ ।  दुई वर्षमा निर्माण सम्पन्न गरिने सो मन्दिरको अनुमातित बजेट एक करोड ३७ लाख रहेको छ । २५ प्रतिशत मात्र मन्दिरको पुरानो सामान प्रयोग गर्ने अवस्थामा रहेको जनाइएको छ ।