इमान सिं राना
रामपुर (पाल्पा), जेठ १७ गते । जिल्लाको निस्दी गाउँपालिकाले १२ कक्षा उत्तीर्ण गरी २० वर्ष पूरा भएर विवाह गरेका महिलाहरुलाई सम्मान गरेको छ । बालमैत्री स्थानीय शासन लागू गर्नका लागि अभियान सञ्चालन गरिरहेको निस्दीले पालिका भित्रका २२ जना महिलालाई नगदसहित सम्मान गरेको हो ।
छैठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा महिला समन्वय समितिले कार्यक्रम गरी पालिकाले १२ कक्षा उत्तिर्ण गरी २० वर्ष पुगेर विवाह गरेका महिलासँगै स्नातकोत्तर तह उत्तीर्ण गरेको तीन जना र उत्कृष्ट महिला उद्यमी पाँच जनालाई समेत सम्मान गरेको छ । जिल्ला समन्वय समिति पाल्पाका उपप्रमुख काशिका गैरे, गाउँपालिका उपाध्यक्ष तीरण कुमारी श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत मदन अर्याल र महिला समन्वय समिति निस्दीका अध्यक्ष तिर्सना खन्गाहाले सम्मान गर्नुभएको थियो ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख काशिका गैरेले महिलाहरुलाई शैक्षिक र आर्थिक रुपमा सशक्त बनाउन कार्यक्रमले महत्त्वपूर्ण सहयोग गर्ने बताउनुभयो । गाउँपालिका उपाध्यक्ष तीरन कुमारी श्रेष्ठले बालविवाह न्यूनीकरणका लागि सचेतना जगाउन र महिलाहरुलाई शिक्षा तथा उद्यम तर्फ आकर्षित गरी आत्मनिर्भर बनाउन सम्मान कार्यक्रम गरिएको जानकारी दिनुभयो । महिलाहरुलाई शैक्षिक, अर्थिक र सामजिक क्षेत्रमा अघि बढाउनका लागि पालिकाले महिला समूह, संघ संस्था संग सहकार्य गर्दै अघि बढेको बताउनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत मदन अर्यालले २०८३ भित्र बालमैत्री स्थानीय शासन लागू गर्न पालिका भित्र अभियान सञ्चालन भइरहेको सन्दर्भमा बालविवाह न्यूनीकरणसँगै महिला सशक्तिकरणमा जागरुक बनाउने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो ।
गाउँपालिकाले गत जेठ ४ देखि ११ गतेसम्म ७ वटै वडामा सूचना जारी गरी वडाको सिफासिरको आधारमा महिलाहरुलाई सम्मान गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख बन्दना गुप्ताले जानकारी दिनुभयो । कार्यक्रममा १२ कक्षा उत्तीर्ण गरी २० वर्ष पूरा भएर विहे गर्ने महिलालाई नगद १० हजार, स्नातकोत्तर उत्तीर्ण महिला र उत्कृष्ट उद्यमी महिलालाई पाँच/पाँच हजारसहित सम्मान गरिएको हो ।