• १२ मंसिर २०८१, बुधबार

वैदेशिक रोजगारमा ठगी बढ्दै

blog

घोराही समाचारदाता

घोराही, जेठ १७ गते । वैदेशिक रोजगारीका लागि युएई पठाउने भनेर काठमाडौँ बस्ने दाङको लमही निवासी दामोदर पोख्रेलले ठगी गरेको भन्दै पाँच जना युवाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुभएको छ ।  

घोराही उपमहानगरपालिका–५, भैँसापथ्रा निवासी डम्बर डाँगीको तीन लाख, ओमबहादुर डाँगीको तीन लाख, गोपाल डाँगीको दुई लाख ५० हजार, तुलसीपुर–९, बेलुवाका ओजबहादुर भण्डारीको दुई लाख र सोही ठाउँका वसन्त थापाको एक लाख ९० हजार रुपियाँ ठगी भएको पीडितले यही जेठ ६ गते उजुरी परेको हो । विदेश पठाउने भन्दै रकम असुलेका पोख्रेलले हुन्छ भन्दै वर्षदिनभन्दा बढी झुलाउने र फोन गर्दा नउठाउने गरेपछि उहाँहरूले जिल्ला प्रशासन कार्यालय अन्तर्गत रहेको सुरक्षित आप्रवासन कार्यक्रमको सूचना तथा परामर्श केन्द्रमा उजुरी दिनुभएको छ । 

त्यसै गरी घोराही उपमहानगरपालिका–१३ का प्रकाशसिंह पुन, घोराही–९, खैरा निवासी दिपेश पुन मगर र प्रभात बाठामगरले पनि जिल्ला प्रशासन कार्यालयमा ठगिएको भन्दै उजुरी दिनुभएको छ । पोल्यान्ड र रोमानिया पठाउने भन्दै लाखौँ रुपियाँ ठगी गरेको भन्दै हाल युके रहेका विशाल थापा र उहाँकी श्रीमती घोराही–१४, लोहासुरकी निरुता थापाविरुद्ध प्रकाश, प्रभात र दिपेशले निवेदन दिनुभएको हो । उजुरी दिएपछि प्रशासनले ठगी गर्नेलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेको छ । निवेदनमा प्रकाशको पाँच लाख ५० हजार र दिपेशको छ लाख र प्रभातको पाँच लाख ५० हजार ठगी भएको उल्लेख छ । 

त्यसै गरी जापान पठाउने भन्दै विभिन्न व्यक्तिको नाममा पैसा उठाउन लगाएर नौ लाख ५० हजार ठगी गरेको भन्दै तुलसीपुर–६, बरुवागाउँका सन्तोष वाइबा तामाङले २०८१ वैशाख २ गते जापान गएकी लक्ष्मी डिसीको नाममा उजुरी दिनुभएको छ । लक्ष्मी डिसीकै नाममा घोराही–७ निवासी नहकुल विकको पनि निवेदन दिनुभएको छ । नहकुलले १४ लाख ५० हजार ठगी गरेको उजुरीमा उल्लेख गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय दाङमा रहेको सुरक्षित आप्रवासन कार्यक्रमको सूचना तथा परामर्श केन्द्रमा चालु आर्थिक वर्षको जेठ महिनासम्म १२५ वटा ठगीका  उजुरी परेको सुरक्षित आप्रवासन कार्यक्रमकी सूचना तथा परामर्शकर्ता रिता लामाले जानकारी दिनुभएको छ । उहाँका अनुसार जसमा छ करोड ७० लाख १४ हजार ३५० रुपियाँ वैदेशिक रोजगारका नाममा ठगी भएको उजुरी छन् । उहाँका अनुसार खाडी मुलुकमा जानेसँगै कोरिया, जापान, इजरायललगायतका देशमा पठाउने र राम्रो कमाइ हुने आश्वासन देखाएर ठग्ने गरेका निवेदन आउने गरेका छन् । 

दलालको भर परेर वा नबुझी विदेश जाँदा खाडी मुलुकमा दुई लाखसम्म, क्रोएसिया, पोल्यान्ड, माल्टालगायतका युरोपियन देशहरू जानेले १० लाखसम्म रुपियाँसम्म दिएर ठगिने गरेको देखिएको सुरक्षित आप्रवासन परियोजना संयोजक वसन्ती पुन बताउनुहुन्छ । उहाँका अनुसार मन्त्रालयले जारी गरेको कार्यविधिका आधारमा जिल्ला प्रशासन कार्यालय दाङले आव २०८०÷८१ साउन महिनादेखि वैदेशिक रोजगारको उजुरीलाई कार्यालयमै छलफल चलाउने र समाधानको प्रयास थालेको थियो । प्रशासनको मुद्दा शाखाले अहिले ठगीका उजुरी सङ्कलन गर्ने र त्यसलाई छलफलको माध्यमबाट समाधान गर्ने काम गरिरहेको बताइएको छ । 

कार्यक्रम संयोजक पुनले भन्नुभयो, “प्रशासनले आरोपीको ठेगाना नजिकै भएको वा सम्पर्कमा रहेको खण्डमा फोनमार्फत आरोपीलाई बोलाउने र दुवै पक्षबिच छलफलबाट समस्या समाधानको काम गरिरहेको छ । सम्पर्कमा नआउनेको खण्डमा भने प्रहरीको सहयोगमा कारबाहीको प्रक्रिया अघि बढाउने गरेको छ ।” उहाँका अनुसार जिल्ला प्रशासनमा हाल वैदेशिक रोजगारको नाममा भएका व्यक्तिगत ठगीका उजुरी मात्र लिने गरिएको तर संस्थागत उजुरी भने वैदेशिक रोजगार विभागमा पठाइँदै आएको छ ।  जिल्ला प्रशासन कार्यालयले १२५ उजुरीकर्तामध्येमा २१ जनाको ६० लाख ५९ हजार रुपियाँ फिर्ता गराइसकेको कार्यक्रम संयोजक पुनले जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रशासनले १८ उजुरीमा सहमति गराएको, आठ वटा उजुरीको विवरण विभागमा पठाएको र बाँकी उजुरीमा प्रहरीको सहयोग लिएर पीडितलाई न्याय दिने गरी काम भइरहेको छ ।