• १२ मंसिर २०८१, बुधबार

ढोरपाटन सिकार आरक्षको राजस्व र पर्यटक बढ्दै

blog

ढोरपाटन सिकार आरक्षको रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१० तकसेरा सेक्टर कार्यालय । तस्बिर : जयमान बुढामगर

जयमान बुढा मगर

रुकुमपूर्व, जेठ १६ गते । रुकुमपूर्व, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको राजस्व हरेक वर्ष बढ्ने क्रम जारी छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म चार करोड ४८ लाख १५ हजार राजश्व सङ्कलन भएको छ । 

गत वर्ष तीन करोड ४८ लाख मात्रै राजस्व सङ्कलन भएको थियो । तर यो वर्षको असार सम्ममा गत वर्षको दोब्बर राजस्व सङ्कलन हुने अपेक्षा छ । कोरोना सङ्क्रमण, स्थानीयको विवाद लगायतका कारण सिकारी आउन नसक्दा राजस्व सङ्कलन घट्दो थियो । सहज यात्रा गर्दै सिकार गर्न पाउने अवस्था भएर बढिबढाउमा सिकारी छानिने अवसरले राजश्व बढेको हो । 

चालु वर्षका दुई सिजनमा गरी ढोरपाटनमा ३० वन्यजन्तुको सिकार भएको छ । सिकार अनुज्ञापत्र शुल्कबाट मात्रै चार करोड २६ लाख राजस्व सङ्कलन भएको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलका बताउनुभयो । त्यसबाहेक पर्यटक प्रवेश शुल्कबाट ११ लाख ६५ हजार, काठ, नदीजन्य वस्तु र जरिवानाबाट नौ लाख चार हजार र हेलिकोप्टर अवतरण गराए बापत ५७ हजार राजस्व सङ्कलन भएको हो । 

गतवर्ष सात हजार ६ सय ४५ पर्यटक मात्रै आएकोमा चालु वर्ष नौ हजार चार सय ३६ पर्यटक आएको तथ्याङ्क छ । सिकार भने गत वर्ष पनि ३० वटै भएका थिए । सिकारका लागि आरक्षले तोकिएको कोटामा बढिबढाउ गरेर सिकारी छानिने प्रावधान छ । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले कोटाको आधारमा सिकारीको टेन्डर खुलाउने गरेको छ । 

त्यसअघि आर्थिक वर्ष २०७८-०७९ मा भने नौ हजार नौ सय १९ पर्यटक आए पनि राजस्व भने एक करोड ७५ लाख ७७ हजार मात्रै सङ्कलन भएको थियो । कोरोना सङ्क्रमणका कारण आर्थिक वर्ष २०७६-०७७ मा ३७ लाख र आर्थिक वर्ष २०७७-०७८ मा २० लाख मात्रै सङ्कलन भएको थियो । कोरोनापछि राजस्व सङ्कलन बढिरहेको हो । 

चालु वर्षको दुई सिजनमा गरी १९ वटा नाउर र ११ झारलको सिकार भएको छ । आरक्षमा ७ वटा सिकार ब्लक छन् ।