• १७ असार २०८१, सोमबार

रुपन्देहीमा नदीजन्य पदार्थको अवैध उत्खनन तीव्र

blog

फाइल तस्बिर ।

लक्ष्मण पौडेल

भैरहवा, जेठ १६ गते । रुपन्देहीका विभिन्न नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खननको ठेक्का लिएपछि सम्झौताविपरीत उत्खनन र अवैध रुपमा ढुवानी कार्य गर्न थालेको पाइएको छ । यतिबेला आम्दानीकाे स्रोत बढाउन नदीसँग जोडिएका रुपन्देहीका सबै पालिकाले नदीजन्य पदार्थको ठेक्का लगाएपछि उत्खनन कार्य तीव्र रुपमा भैरहेको छ। 

तर सम्झौता अनुरुप र ठेक्का लगाउनु पूर्व गरिने प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कनको ठेकेदारले पालना गरेको बारेमा भने सम्बन्धित निकायहरुको अनुगमन प्रभावकारी रुपमा गरिएको छैन । जसका कारण नदीमा सम्झौता विपरीत उत्खनन गर्ने र सम्बन्धित निकायको बिक्री आदेश बिना नै उत्खनन गरिएको पदार्थ सिधै बिक्री गर्ने गरेको पाइएको छ । यस खालको अवैध कार्य केही दिन यता तीव्र गतिमा बढ्न थालेको छ । अवैध रुपमा नदी–खोलाबाट उत्खनन र सम्बन्धित पालिकाको बिक्री आदेश बिना नै बिक्रीका लागि ढुवानी गरिरहेको अवस्थामा चार दिनमा दुई वटा उपकरण जेसीभी र नौ वटा टिप्पर पक्राउले नदीजन्य पदार्थको अवेध उत्खखन बढेको कुरालाई पुष्टि गर्छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिल्ला प्रहरी कार्यालयको मातहतका विभिन्न प्रहरी कार्यालयले गत शुक्रवारदेखि मङ्गलबारसम्ममा ती जेसीभी र टिप्पर पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय, छपियाले सियारी गाउपालिका–४ ओर्लहवाबाट अवैध रुपमा नदीजन्य पदार्थ (मिस्कट) ओसारपसार गरिरहेको अवस्थामा रा १ ख १६९३, लु २ ख ३९३६, र लु २ ख २६६८ नम्बरको टिप्पर पक्राउ गर्‍याे ।

इलाका प्रहरी कार्यालय, लुम्बिनीले मायादेवी गाउँपालिका–४, बनकसियाबाट अवैध रुपमा माटो उत्खनन गरी ओसारपसार गरिरहेको अवस्थामा लु १ क ४७४३ नम्बरको टिप्पर र ना १ क ५७४५ नम्बरको जेसीभी पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय, भैरहवाले मायादेवी गाउँपलिका–७, मर्चहवाबाट अवैध रुपमा बालुवा उत्खनन गरी ढुवानी गरिएका लु २ ख ४२७६ र लु २ ख ५३४२ नम्बरको टिप्पर नियन्त्रणमा लियो ।

इलाका प्रहरी कार्यालय, बेथरीले मायादेवी गाउँपालिका–७, वनगाईबाट अवैध बालुवा ओसारपसार गरिरहेको रा १ ख १४९५ र प्रदेश २–०३–०१ ख ७०३ नम्बरको टिप्परलाई नियन्त्रणमा लिएको थियो। प्रहरी चौकी, व्यहोरीले कञ्चन गाउँपालिका–१, कुचेरामा अवैध रुपमा माटो उत्खनन गरी ओसारपसार गरिरहेको ना १ क ३७३७ नम्बरको जेसीभी र ना ८ ख ६६४७ नम्बरको टिप्परलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी तथा प्रवक्ता मनोहरप्रसाद भट्टले नियन्त्रणमा लिइएका टिप्पर तथा जेसीभीलाई कारबाही गर्नका लागि सम्बन्धित पालिकामा बुझाइएको बताउनुभयो । उहाँले अवैध उत्खनन र ओसारपसारमा संलग्नलाई प्रहरीले धमाधम पक्राउ गरी कानुनी दायरामा ल्याउने काम गरिरहेको जानकारी दिनुभयो ।