• १० मंसिर २०८१, सोमबार

आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्य

blog

मङ्गलबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक । तस्बिर : केशब गुरुङ

काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो । उहाँले प्रस्तुत बजेटको कार्यान्वयनबाट आगामी आर्थिक गतिविधिमा तीव्रता आउने र उत्पादन वृद्धि तथा रोजगारी सृजना हुन गई दिगो, फराकिलो एवम् समावेशी आर्थिक वृद्धि हासिल हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

बजेटमा प्रस्ताव गरेको राजश्वसम्बन्धी नीति तथा कार्यक्रमको कार्यान्वयनबाट राजस्वको आधार तथा दायरा विस्तार हुने, आर्थिक क्रियाकलाप र लगानीमैत्री कर प्रणाली स्थापित भई आन्तरिक राजश्व परिचालन सुदृढ हुँदै जाने अपेक्षा पनि आफूले गरेको अर्थमन्त्री पुनको भनाइ थियो ।

‘‘प्रस्तुत बजेट कार्यक्रमबाट नयाँ चरणको आर्थिक सुधार कार्यक्रम कार्यान्वयन हुनेछ । लामो समयदेखि पुँजीगत खर्चको परिचालन देखिएका अवरोध समाधान हुने र सार्वजनिक वित्त प्रणाली थप चुस्त भई सार्वजनिक खर्चको प्रभावकारिता बढ्ने अपेक्षा गरेको छु । बजेटमा प्रस्ताव गरेको राजश्वसम्बन्धी नीति तथा कार्यक्रमको कार्यान्वयनबाट राजश्व आधार तथा दायरा विस्तार हुने, आर्थिक क्रियाकलाप र लगानीमैत्री कर प्रणाली स्थापित भई आन्तरिक राजस्व परिचालन सुदृढ हुँदै जाने अपेक्षा गरेको छु ।,’’ उहाँले भन्नुभयो, ‘‘यो बजेटका कार्यान्वयनबाट आगामी आर्थिक गतिविधिमा तीव्रता आउने र उत्पादन वृद्धि तथा रोजगारी सृजना हुन गई दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल हुने विश्वास लिएको छु । बजेटमा प्रस्ताव गरिएको नीति तथा कार्यक्रम कार्यान्वयनबाट आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान गरेको छु ।’’

अर्थमन्त्री पुनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले आर्थिक सुधार कार्यक्रम कार्यान्वयन हुने दाबी समेत गर्नुभयो ।