सिराज खान
नेपालगन्ज, जेठ १५ गते । सार्वजनिक सरोकारका मुद्दामा भएको फैसला कार्यान्वयनका लागि बाँकेका कानुन व्यवसायीहरूले प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको ध्यानाकर्षण गराएका छन् । सार्वजनिक सरोकारका मुद्दामा वकालत गर्दै आउनुभएका कानुन व्यवसायीहरूले प्रमुख जिल्ला अधिकारी रिजालसँग भेटघाट गरी फैसला कार्यान्वयनमा जोड दिँदै प्रशासनको ध्यानाकर्षण गराउनु भएको हो ।
अधिवक्ता वसन्त गौतमले उच्च अदालतबाट निकै राम्रा राम्रा फैसला भएपनि कार्यान्वयनमा समस्या भएकोले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, "नागरिकता लगायत शिक्षा, स्वास्थ्य, खाद्य, वातावरण लगायतका मानव अधिकारको संरक्षण र सामाजिक न्यायसँग सम्बन्धित विभिन्न मुद्दामा हाम्रो गम्भीर चासो रहेको छ ।"
बाँकेका प्रमुख जिल्ला अधिकारीसँगको छलफलमा फौजदारी न्याय, स्वच्छ सुनुवाइ, सार्वजनिक सरोकारका मुद्दामा भएका फैसलाको कार्यान्वयनका सवालमा छलफल भएको छलफलमा संलग्न अर्का अधिवक्ता बल बहादुर चन्दले बताउनुभयो ।
अधिवक्ता चन्दका अनुसार फौजदारी मुद्दाको स्वच्छ सुनुवाइका लागि इजलास कक्षको स्थापना गर्ने, जिल्ला प्रशासन कार्यालयमा पनि मुद्दाको सुनुवाइको व्यवस्था हुनुपर्ने कुरामा अधिकारकर्मीले सो अवसरमा जोड दिनुभएको छ । छलफलका क्रममा नागरिकताका विषयमा अदालतबाट भएका फैसला कार्यान्वयन नभएको विषयमा प्रमुख जिल्ला अधिकारीको विशेष ध्यानाकर्षण गराइएको अर्का अधिवक्ता विश्वजित तिवारीले बताउनुभयो । उहाँका अनुसार कानुन व्यवसायीसँगको छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी रिजालले फैसला कार्यान्वयन र इजलास स्थापनामा प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक तुल बहादुर कार्कीको पनि उपस्थिति रहेको थियो ।