जयमान बुढामगर
रुकुमपूर्व, जेठ १५ गते । जिल्लाका विभिन्न बुकी (पाटन) मा बहुमूल्य जडीबुटी यार्चागुम्बा पाइन्छ । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका–१, २ र ३ नम्बर वडाका विभिन्न बुकी (पाटन) मा यार्चा पाइन्छ । यस वर्ष प्रतियार्चाको पाँच सयदेखि एक हजार रुपियाँसम्म भाउ गएको छ ।
यार्चा टिप्ने याम सुरु भएसँग सम्बन्धित वडावासी तथा त्यस आसपासका बासिन्दा अहिले यार्चा पाइने बुकी पाटनमा पुगेका छन् । यार्चा सङ्कलनबाट राम्रो आम्दानी हुने भएकाले यहाँका स्थानीय अहिले बुकीतिर गएका हुन् ।
व्यक्तिगत आयस्रोत मात्र नभएर सिङ्गो वडाको नै मुख्य आयस्रोत यार्चा बनेको छ । व्यक्तिले यार्चा खोजी गरी पाएको यार्चा बिक्रीबाट आम्दानी गर्ने गरेका छन् भने सम्बन्धित वडाका बासिन्दाले संयुक्त कोष खडा गरी यार्चा सङ्कलनका लागि जाने गरेका व्यक्तिबाट प्रवेश शुल्कबाट आम्दानी गर्ने गरेका छन् । यार्चा सङ्कलन गर्ने याम जेठको पहिलो सातादेखि असारको पहिलो सातासम्म चल्ने गरेको छ ।
हरेक वर्ष यो याममा यार्चा पाइने सम्बन्धित वडावासी र यस आसपासका बासिन्दा यार्चा सङ्कलनका लागि बुकी पाटन पुग्ने गरेका हुन् । यार्चा सङ्कलन गरी बिक्रीबाट एक व्यक्तिले ३० हजारदेखि पाँच लाख रुपियाँसम्म आम्दानी गर्ने गरेको पुथाउत्तरगङ्गा गाउँपालिका–१, मैकोटका दलबहादुर पुनले बताउनुभयो । व्यक्तिगत आयस्रोत र समुदायका लागि पनि आयस्रोत यार्चा नै रहेको पुनको भनाइ छ । यार्चा सङ्कलनका लागि उठेको शुल्कबाट समुदायमा बिग्रे/भत्केका बाटो, निजी शिक्षकलाई तलब, पुलपुलेसा मर्मत तथा नयाँ बनाउन र गाउँमा भइपरी आउने हरेक खर्च टार्न बुकीकै ठुलो सहयोग रहिआएकोसमेत पुनले जानकारी दिनुभयो ।
बुकीमा पाइने यार्चाकै कारण बुकी पाटन र त्यस आसपासका बासिन्दाको दैनिकी सहज रूपमा चलेको छ । यार्चा टिप्ने कार्य व्यवस्थित बनाउन हरेक वर्ष यार्चा याम व्यवस्थापन समिति गठन गर्ने गरिएको छ । सोही समितिको व्यवस्थापनमा बुकी खुला गरिन्छ र स्थानीय रूपमा प्रवेश शुल्क कर सङ्कलन हुन्छ । यही कर नै गाउँ विकासको मुख्य स्रोत हो ।
अहिले यार्चा टिप्न स्थानीय बुकी गएपछि पुथाउत्तरगङ्गा–१ को मैकोट, २ को पेल्मा र ३ को रन्मा गाउँ सुनसान छ । वडा नं. १ र २ को एउटा यार्चा याम व्यवस्थापन समिति र वडा नं. ३ को अर्काे यार्चा याम व्यवस्थापन समिति गठन गर्ने गरिएको छ । यस वर्ष यार्चा याम व्यवस्थापन समितिले यार्चा सङ्कलनका लागि प्रतिव्यक्ति प्रवेश शुल्क एक हजार पाँच सय रुपियाँ तोकेको छ । जसमा वडा नं. ३ को समितिले खुला रूपमा यार्चा सङ्कलनका लागि प्रवेश गर्न दिएको छ भने वडा नं. १ र २ को समितिले सम्बन्धित वडावासीलाई मात्र अनुमति दिएको छ ।
हिउँ कम परेपछि यार्चामा कमी
यस वर्ष हिउँ कम परेपछि यार्चा कम मात्रामा पाइएको पुथाउत्तरगङ्गा–१ का वीरेन्द्र बुढाले बताउनुभयो । जलवायु परिवर्तनको असरले बुकीमा हिउँ कम परेपछि यार्चा कम मात्रामा पाइएको बुढाले बताउनुभयो । विगतका वर्षमा २० देखि ३० किलोसम्म यार्चा सङ्कलन हुने गरेकामा यस वर्ष नौ÷दस किलो मात्र यार्चा सङ्कलन हुने अनुमान गरिएको उहाँको भनाइ छ । बुढाले भन्नुभयो, “विगतका वर्ष बुकीमा हिउँले ढाकेको हुन्थ्यो, यस वर्ष बुकी उजाड छ । त्यस कारण यार्चा उत्पादनमा कमी आएको छ ।”
डिभिजन वन कार्यालय रुकुमपूर्वबाट हालसम्म छ किलो मात्र यार्चा सङ्कलनका लागि व्यापारीले यार्चा सङ्कलन पुर्जी लिएको रेन्जर विश्व केसीले बताउनुभयो । प्रतिकिलो ३१ हजार रुपियाँ राजस्वबापतको अनुमति पुर्जी दिइने गरेको केसीले जानकारी दिनुभयो । व्यापारीले गत वर्ष १२ किलो यार्चा सङ्कलन अनुमति पुर्जी लिएका थिए ।