• १३ साउन २०८१, आइतबार

नेपालगन्ज भन्सारद्वारा एकाउन्न प्रतिशत मात्र राजस्व सङ्कलन

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, जेठ १५ गते । पश्चिम नेपालकै सबैभन्दा ठुलो तथा अहम नाका मानिने नेपालगन्ज नाकाबाट भन्सार कार्यालयले लक्ष्यको आधा मात्र भन्सार राजस्व सङ्कलन गर्न सकेको छ ।  केही वर्षपहिलेसम्म यो नाकाबाट लक्ष्यभन्दा बढी भन्सार राजस्व सङ्कलन हुँदै आएकोमा सो घट्दै गएर अहिले लक्ष्यको आधा मात्र सङ्कलन हुने अवस्थामा पुगेको देखिन्छ । नेपालगन्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार, चालु आव २०८०/८१ को १० महिनामा निर्धारित वार्षिक लक्ष्यको ५१.२३ प्रतिशत मात्रै राजस्व असुली भएको छ । 

अब बाँकी दुई महिनामा लक्ष्य भेटाउनका लागि भन्सारले बाँकी ४९ प्रतिशत राजस्व असुली गर्नुपर्ने भएकाले लक्ष्य अनुसार कुनै पनि हालतमा राजस्व सङ्कलन हुने देखिँदैन ।  नेपालगन्ज भन्सार कार्यालयले चालु आव २०८०/८१ का लागि कुल २८ अर्ब ६६ करोड २५ लाख ३५ हजार लक्ष्य प्राप्त गरेकोमा वैशाख मसान्तसम्म जम्मा १४ अर्ब ६८ करोड २२ लाख ९० हजार मात्रै असुली गर्न सफल भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख ध्रुव विकले बताउनुभयो । 

उहाँले विभिन्न कारणले चालु आवको कुनै पनि महिनामा नेपालगन्ज भन्सारले आफ्नो मासिक लक्ष्य अनुसार असुली गर्न नसकेको जनाउँदै बढीभन्दा बढी राजस्व सङ्कलन गर्ने उद्देश्यका साथ काम गरिरहेको बताउनुभयो । 

सीमापारिबाट हुँदै आएको ठुलो परिमाणको अवैध आयात, चोरी पैठारी र आयातनिर्यातमा भएको कमीकमजोरीलगायतकै कारण भन्सार राजस्व असुलीले लक्ष्य प्राप्त गर्न नसकेको जनाइएको छ । 

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा व्यवसायी अगुवा नन्दलाल वैश्यले चोरी, तस्करी र अवैध आयात बढ्दै जाँदा वैध रूपमा सङ्कलन हुँदै आएको राजस्व सङ्कलन प्रभावित भएको बताउनुभयो । 

उहाँले राजस्व सङ्कलन बढाउन नाकाबाट हुने तस्करी, अवैध आयात र चोरीनिकासीलाई शून्यमा झार्नुको विकल्प नरहेको दाबी गर्नुभयो ।