• १५ असार २०८१, शनिबार

भत्तासँगै छाता र लौरो उपहार

blog

काभ्रेपलाञ्चोक (खानीखोला), जेठ १५ गते । खानीखोला गाउँपालिकाका जनप्रतिनिधि सामाजिक सुरक्षा भत्ताबापतको रकमका साथमा लौरो र छाता पनि बोकेर जनताको घरैमा पुगेका छन् । सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई हिँडडुल गर्न र पानीबाट जोगिन सहयोग होस् भनेर छाता उपहार दिइएको गाउँपालिकाले जनाएको छ ।

खानीखोला जिल्लाको विकट गाउँपालिकामध्येमा पर्छ । गाउँपालिकाको केन्द्रमा मात्रै बैङ्क रहेको र बैङ्कसम्म आउन सेवाग्राहीलाई घण्टौँ लाग्ने भएपछि ज्येष्ठ नागरिक, अशक्त, एकल र विधवालाई घरमै पुगेर भत्ता उपलब्ध गराइएको हो । सिङ्गो गाउँपालिका नै जनताको घरदैलोमा पुगेपछि खाली हात नजाने भन्दै छाता र लौरो उपहारसमेत गाउँपालिकाले उपलब्ध गराएको छ । 

गाउँपालिकाले सामाजिक सुरक्षा भत्तासँगै खादा ओढाएर लौरो र छाता उपहार दिएपछि यहाँका नागरिक निकै खुसी छन् । ८० वर्षका शेरबहादुर ध्यावाले पालिकाको केन्द्र पुग्न निक्कै सास्ती बेहोरेको समयमा घरमै ल्याएर भत्ता दिएपछि सरकार भएको अनुभूति मिलेको बताउनुभयो ।   

गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले विकट भूगोल भएकाले सामाजिक सुरक्षा भत्ता लिन आउन सेवाग्राहीले सास्ती बेहोरेपछि घरदेलौमै पुगेर सेवा दिएको जानकारी दिनुभयो । सकेसम्म बैङ्कबाटै कारोबार गराउने प्रयास गरे पनि घण्टौँ हिँडेर आउँदा सेवाग्राहीले सास्ती बेहोरिरहेको देखेपछि वडामै पुगेर सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउन थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकले जनप्रतिनिधि (हामी) लाई भत्ता लिन आउन निक्कै अप्ठ्यारो भएको गुनासो गर्नुभएको थियो । गाउँपालिकाको केन्द्रमा मात्रै बैङ्क रहेकाले बैङ्कसम्म आउन पनि घण्टौँ पैदल हिँड्नुपर्ने भएपछि वडाबाटै भत्ता वितरण थालिएको हो ।” 

सामाजिक सुरक्षा भत्ता बोकेर जाँदा बर्खामा काम लागोस् भनेर छाता र लौरो उपहार दिइएको अध्यक्ष थिङले उल्लेख गर्नुभयो । पहिलो चरणमा गाउँपालिकाको केन्द्रसम्म सहज यातायातको पँहुच नभएका वडास्तरबाट भत्ता वितरण सुरु गरेको हो । त्यसको सुरुवात वडा नं ७ बाट गरिएको छ । 

यातायात र बैङ्कसँगको पहुँच नभएका, वृद्धवृद्धा, अशक्त अपाङ्गता भएका नागरिकलाई पालिकाले दिएको सेवाबाट यहाँका नागरिक निक्कै खुसी देखिएका छन् । गाउँपालिकामा १ हजार १०७ जनाले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् । स्थानीय बसुदिङ थिङले पहिलो पटक गाउँमै सरकार आएको अनुभूति भएको उल्लेख गर्नुभयो । गाउँपालिकाले आफ्ना समस्या बुझ्न र भत्ता दिन आफ्नो गाउँसम्म आउँदा निकै खुसी लागेको बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान तामाङले आफ्ना नागरिकले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणको माग गरेपछि भत्तासँगै लौरो र छाता लिएर पुगेको जानकारी दिनुभयो ।