• ३ असार २०८१, सोमबार

साढे छ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै

blog

पोलियोविरुद्धको आइपिभी खोप अभियानबारे शनिबार बसेको बैठकका अतिथि । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ १२ गते ।
ताप्लेजुङमा साढे छ हजार बढी बालबालिकालाई आइपिभी खोप लगाइने भएको छ । नौ स्थानीय तह रहेको जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन हुने र साढे छ हजार बढी लक्षित बालबालिकालाई खोप लगाइने भएको हो ।

स्वास्थ्य कार्यालय ताप्लेजुङका अनुसार आइतबारदेखि सुरु हुने अभियानमा कुल छ हजार ७५० जना बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप लगाइँदै छ । सदरमुकाम फुङ्लिङमा शनिबार बसेको जिल्ला खोप समन्वय समितिको बैठकमा स्वास्थ्य कार्यालयले अभियानबारे जानकारी गराएको हो ।

समितिका सदस्य सचिव एवम् स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख कुलबहादुर पौडेलका अनुसार पहिलो चरणअन्तर्गत चारवटा स्थानीय तहमा आइतबारदेखि शुक्रबारसम्म छ दिन खोप अभियान सञ्चालन हुने छ । पहिलो चरणमा फुङ्लिङ नगरपालिका, पाथीभरा याङवरक गाउँपालिका, सिदिङ्वा गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाका बालबालिकालाई खोप दिने पौडेलले जानकारी दिनुभयो ।

यस्तै, दोस्रो चरणअन्तर्गत जेठ २० देखि २५ गतेसम्म बाँकी रहेको मिक्वाखोला गाउँपालिका, मैवाखोला गाउँपालिका, सिरिजङ्घा गाउँपालिका, मेरिङ्देन र फक्ताङ्लुङ गाउँपालिकामा खोप अभियान सञ्चालन हुने छ । अभियानका लागि जिल्लाभर ३९८ वटा केन्द्र निर्धारण भएको पनि स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका खोप भण्डारण (कोल्डचेन) सुपरभाइजर दिनेश रायका अनुसार अधिकांश विद्यालयलाई खोप केन्द्र बनाइएको छ । साढे पाँचदेखि आठ वर्षसम्मका बालबालिकालाई आइपिभी खोप दिइने हुँदा विद्यालयमा खोप केन्द्र केन्द्रित गरिएको रायको भनाइ छ । खोप अभियानका लागि तालिम प्राप्त स्वास्थ्यकर्मी र सहयोगी तथा स्वयंसेवक गरी नौ सय जना बढी जनशक्ति परिचालन हुने पनि स्वास्थ्य कार्यालयले जनाएको छ ।

यता बैठकमा फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले खाेप अभियान प्रभावकारी रुपमा सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभयो । नगरप्रमुख मादेनले स्थानीय तहका तर्फबाट खोप अभियानका लागि गर्नुपर्ने भूमिकामा कमी हुन नदिने बताउनुभयो ।