• ३ असार २०८१, सोमबार

फिल्ममा लगानी बढ्दै, हल घट्दै

blog

काठमाडौँ, जेठ १२ गते । नेपालमा मल्टिप्लेक्सको सुरुवात भएसँगै कुनै समय धेरै राम्रा भनिएका हल बन्द भइसेकका छन् । कुमारी, जयनेपाल, गोपीकृष्ण, गुण सिनेमा, गङ्गा, सिद्धार्थ, हिरारत्न, शिवदर्शन, मनकामना, आरधनालगायत चलचित्र भवन बन्द अवस्थामा छन् । सहरको केन्द्रभागमा रहेका धेरै जसो चलचित्र भवनमा व्यापारिक कम्प्लेक्स, अपार्टमेन्ट निर्माण गरिएका छन् । 

झापा, मोरङ, जनकपुर, चितवन, तनहुँ, पाल्पा, बागलुङ, दाङ, रुपन्देही, पर्वत, धनकुटा, धनुषाका सिङ्गल थिएटर बन्द भइसकेका छन् । केही हल अहिले पार्टी प्यालेसमा परिणत भएका छन् । केही कलेजका कार्यव्रmम गर्नका निम्ति प्रयोग गरिएका छन् । केही गोदाम बनाइएका छन् । 

चलचित्र विकास बोर्ड मातहत हल अनुगमन समितिका संयोजक राजु केसीका अनुसार समितिले हलको मात्र नभएर बक्स अफिस अनुगमन पनि गर्ने गरेको छ । हलको अनुगमन महिनामा एकचोटि हुने गरेको छ । काठमाडौँमा सिङ्गल थिएटर खासै नभएको हुनाले अहिले हलमा धेरै परिवर्तन भइसकेको छ । अहिले प्रविधिले धेरै कुरा परिवर्तन गरेको छ । अहिले शौचालयदेखि लिएर हलको बस्ने सिटसम्म परिवर्तन भइसकेका छन् । कुनै जमाना थियो, काठमाडौँका हल एक एक गरी नियाल्नुपर्ने हुन्थ्यो तर अहिले समयले त्यो सबै परिवर्तन गरिदिएको छ । मोफसलका हलमा अझ पनि धेरै कुरा सुर्धानुपर्ने उहाँको भनाइ छ । मोफसलमा अहिले पनि केही हललाई अनुगमनको जरुरी देखिन्छ । देशैभरि गरेर अहिले ८० वटा जति रहेका छन् । उहाँका अनुसार बन्द भएका हलको सङ्ख्या गनिसाध्य छैन । हलहरू वर्गीकरण गर्ने कुरामा अहिलेसम्म टुङ्गो लागेको छैन । अहिलेसम्म वर्गीकरण गरिएको छैन । संयोजक केसीले अब बिस्तारै हल र चलचित्र दुवैको वर्गीकरण गर्नु पर्छ भन्ने कुरा सम्बन्धित निकायमा राखिएको बताउनुभयो ।

संयोजक केसीले हलहरू राति ११ बजेसम्म सञ्चालल गर्ने अनुमति भएको बताउनुभयो । उहाँका अनुसार राति ११ बजे पनि चलचित्र प्रदर्शन गर्नुपरे शान्तिसुरक्षाको व्यवस्था सुनिश्चित हुने गरी प्रदर्शकले चलचित्र प्रदर्शन गर्नुपर्ने र त्यसरी उक्त समयमा चलचित्र प्रदर्शन गर्नुपरे प्रदर्शन गर्नुअगावै बोर्डलाई जानकारी गराउनुपर्ने हुन्छ । उहाँले थप्नुभयो, “बेलुका सो सुरु ७ देखि ७ः१५ सम्म हुने तर बुकिङ धेरै चाप भएको अवस्थामा राति ११ बजेसम्म हल सञ्चालन गर्न सकिने छ । हामी त्यो समय अनुगमन पनि गर्न जान्छौँ ।” 

केही हप्तापहिला लुम्बिनी र गण्डकी प्रदेशमा हल अनुगमन गरेर आउनुभएका चलचित्र विकास बोर्डका प्रशासनिक प्रमुख दिनेश बानियाँ हलले कर तिरेको छ कि छैन र हलको नवीकरण गरेको छ कि छैन भनेर अनुगमन गर्दा दुई चार वटाबाहेक मापदण्ड अनुसार सबै हलले कर तिरेको पाइएको बताउनुभयो । उहाँका अनुसार काठमाडौँ सबै हलले पनि अहिले कर तिरी नै रहेका छन् । 

चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार मल्टिप्लेक्सले गर्दा सबै हलको अवस्था राम्रो रहेको छ । लगानी राम्रो गर्न नसकेर अहिले केही हल बन्द भएका छन् । अहिले पनि अत्याधुनिक सुविधासम्पन्न नभएका हललाई केही अफ्ठ्यारो हुने गरेको छ ।