• २ असार २०८१, आइतबार

निःशुल्क वाइफाईजडित पालिका बनाइएको छ

blog

धनुषाको दक्षिणपूर्वी भागमा पर्ने मुखियापट्टी मुसहरनिया गाउँपालिका मुलुककै सबैभन्दा होचो ठाउँ हो । यस गाउँपालिकाको जनसङ्ख्या २५ हजार ४८२ रहेको छ भने क्षेत्रफल २६.८४ वर्ग स्क्वायर फिट रहेको छ । गत निर्वाचनमा जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष जयकुमार यादवसँग महेन्द्रनगर (धनुषा) समाचारदाता स्मृति मिश्रले गर्नुभएको कुराकानी :  

तपाईं निर्वाचित भएर आउनुभएको दुई वर्ष भयो । यो अवधिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

म निर्वाचन भएपछि यस गाउँपालिकामा विभिन्न किसिमका परिवर्तन ल्याउन सफल भएको छु । स्थानीय तहबाट जनतालाई दिने सेवा सकेसम्म झन्झटरहित र सरल बनाएको छु । शिक्षक नभएको विद्यालयमा पदपूर्ति गरिएको छ । अतिविपन्न गरिब तथा असहाय दलितका लागि शौचालय निर्माण, कृषिमा आधुनिकीकरणका लागि कार्यक्रम अगाडि सारिएको छ । सुशासनका लागि निरन्तर सूचना प्रवाह गरिँदै आएको छ । यहाँका जनतालाई देशमा साँच्चै सङ्घीयता आएको महसुस हुने गरी काम गर्दै आएको छु । 

शिक्षा र स्वास्थ्य क्षेत्रको विकास र गुणस्तर वृद्धिका लागि के कसरी काम भइरहेको छ ?

गाउँपालिकाबाट शिक्षा, स्वास्थ्य, कृषिलगायतलाई प्रमुख आधार बनाई काम भइरहेको छ । शिक्षामा कक्षा १२ सम्म निःशुल्क गरिएको छ । विद्यालयबाट टाढा घर भएका बालबालिकाका लागि स्कुल बसको व्यवस्था गरिएको छ । विद्यालयमा शिक्षकको अभाव थियो त्यो पनि पूर्ति भइसकेको छ । यस वर्ष प्रत्येक विद्यालयमा पूर्वाधारको काम अगाडि बढाइएको छ । विद्यालयको प्रत्येक कक्षाकोठामा सिसिटिभी जडान गरिएको छ । शिक्षामा सबै वर्गको पहुँच बढाउन तीन वटा आधारभूत  विद्यालयलाई माध्यमिक तहमा सञ्चालन गर्ने अनुमति दिइएको छ । शिक्षामा दलित तथा सीमान्तकृत समुदायका बालबालिकाको सहभागिता गराउन शिक्षकद्वारा घरदैलो कार्यक्रम गर्ने गरिएको छ । 

स्वास्थ्य क्षेत्रको विकासका लागि गाउँपालिकाबाट दुई वटा एम्बुलेन्स खरिद गरिएको छ । दुई वटा थप स्वास्थ्य चौकी निर्माण गरिएको छ । सुविधासम्पन्न प्याथोलोजी सञ्चालन तथा विभिन्न निर्माणका कार्य आवश्यकता अनुसार गर्दै आएको छु । एउटा जेसिबी खरिद गरिएको छ र सुरक्षा तथा सेवा प्रवाह सहजका लागि नगर प्रहरी गाउँपालिकामा भर्ना गरिएको छ  । 

गाउँपालिकालाई आर्थिक रूपमा सबल बनाउन के गर्दै हुनुहुन्छ र आगामी योजना के छ ? 

समथल भूभाग भएकाले तराई मधेशको मुख्य आयआधार नै कृषि हो । यदि हामी कृषिमा आत्मनिर्भर भयौँ भने आर्थिक रूपमा पनि सशक्त हुन्छौँ । त्यसका लागि कृषिमा आधुनिकीकरण आवश्यक छ । त्यसैले यस वर्षदेखि कृषि विद्युतीकरणका लागि पाँच करोड रुपियाँ खर्च गरिने छ । जसमध्ये जनकपुर विद्युत्लाई दुई करोड र जलेश्वर विद्युत्लाई दुई करोड रुपियाँमा सङ्घबाट थप एक करोड गरी जम्मा पाँच करोडको काम यस वर्ष हुने छ । समयमा खाद्य, मल र बिउ पालिकाद्वारा उपलब्ध गराइएको छ । यसले यहाँका बासिन्दाको आर्थिक समृद्धिमा ठुलो टेवा पुग्ने विश्वास लिएका छौँ । 

सरसफाइमा गाउँपालिकाले कस्तो योजना बनाएको छ ?

वास्तवमा सरसफाइ अहिलेको मुख्य चुनौती बनेको छ तर भन्निछ नि जहाँ इच्छा त्यहाँ उपाय । मैले आफ्नो पालिकाका टोल टोल सफा रहोस् भनेर सरसफाइका लागि चार वटा ट्याक्टर खरिद गरेको छु, जसले प्रत्येक दिन फोहोर सङ्कलन गर्छन् । यसले व्यक्तिगत सरसफाइमा पनि मद्दत पु-याउँछ । समुदायका मानिसलाई सरसफाइ आफ्ना लागि हो भन्ने भावना जगाई उहाँहरूबाट पनि सहयोग लिई सरसफाइ प्रभावकारी भइरहेको देखेको छु ।  

फ्री वाइफाई जडान गर्नुभएको छ नि ? यसको मुख्य उद्देश्य के हो ? 

यस गाउँपालिकाबाट वैदेशिक रोजगारमा गएका युवाका घरपरिवारलाई आफ्ना सन्तति, परिवारका सदस्यसँग निरन्तर सञ्चार गर्न सहज होस् भनेर फ्री वाइफाई जडान गरिदिएका हौँ । यसबाट उहाँहरू पैसा खर्च गरी गरी मोबाइलमा डाटा किन्ने झन्झटबाट पनि मुक्त हुनुभएको छ । साथै यस गाउँपालिकाका बालबालिकालाई नयाँ प्रविधिको प्रयोग गर्दै पठनपाठन गर्न सहज होस् भन्ने पनि हो ।  

अन्य भौतिक पूर्वाधार निर्माणका लागि कस्ता कार्यहरू भइरहेका छन् ?

भौतिक पूर्वाधार निर्माणमा सडक निर्माण हाम्रो मुख्य प्राथमिकतामा रहेको छ । सबै ठाउँको त हुन सकेको छैन तर आवश्यकता अनुसार बनाउने कार्य जारी रहेको छ । १३ वटा विद्यालयको भवन निर्माण, प्रत्येक टोलमा दलान, धर्मशाला, स्वास्थ्य चौकीलगायत पूर्वाधार निर्माणका काम पनि भइरहेका छन् । 

गाउँपालिकाका शिक्षकहरूमा विवाद देखिएको छ, किन होला ? 

हाम्रो पालिकामा कुनै किसिमको विवाद छैन । समयमा नआउने, राम्रोसँग नपढाउने शिक्षकलाई कारबाही गर्दा सामाजिक सञ्जालमा केही असन्तुष्टि देखिने गरेका छन् तर कुनै ठुलो विवाद छैन । अब शिक्षा क्षेत्रमा व्यापक परिवर्तन आएको छ । शिक्षाले मानिसलाई अन्धकारबाट उज्यालोतर्फ लम्काउँछ, शिक्षा निरन्तर चलिरहने प्रव्रिmया हो यसले ज्ञान र सिप सिक्न सकिन्छ, व्यक्तिको सर्वाङ्गीण विकास शिक्षाबिना अधुरो हुन्छ ।  त्यसैले मैले शिक्षामा कुनै किसिमको सम्झौता नगर्ने अठोट लिएको छु । 

चालु आर्थिक वर्षको अहिलेसम्म कति प्रतिशत बजेट खर्च गर्नुभयो ? 

पालिकाभरि विभिन्न कार्य भइरहेको छ । सुरुदेखि नै योजना सञ्चालन भइरहेका कारण अहिलेसम्म चालु आवको कुल बजेटको ८० प्रतिशतभन्दा बढी काम सकिइसकेको छ ।