• २ असार २०८१, आइतबार

‘बुद्धको जन्मभूमि नेपाल हुनु हाम्रा लागि गौरव’

blog

काठमाडौँ, जेठ १० गते । राष्ट्रपति रामचन्द्र पौडेलले महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु गौरवको विषय भएको बताउनुभएको छ । उहाँले २५६८ औँ बुद्ध जयन्तीको शुभकामना दिँदै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

उहाँको सन्देशमा उल्लेख छ, “शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सकिने विश्वास मैले लिएको छु ।” उहाँले सन्देशमा गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति, समाज र विश्व समुदायबिच शान्ति, सहअस्तित्व थप सुदृढ गर्दै लैजाने अभियानमा लाग्न विश्वभरिका मानव समुदायलाई प्रेरणा मिलोस् भन्ने कामनासमेत गर्नुभएको छ ।


उभौली पर्वको शुभकामना

यसैबिच राष्ट्रपति रामचन्द्र पौडेलले उभौली पर्वले सबै समुदायका नेपालीबिच सामाजिक र सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । उभौली पर्वको शुभकामना दिँदै उहाँले सो कामना गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले यस प्रकारको सांस्कृतिक पर्वले मुलुकको सांस्कृतिक विविधतालाई कायम राख्दै समानता र सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायबिच आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुग्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ । किराँत समुदायको बाहुल्य भएको नेपालका पूर्वी जिल्ला र उपत्यकामा बसोबास गर्दै आएका किराँत समुदायले यो पर्वलाई भव्य रूपमा मनाउने गर्छन् ।