• २ असार २०८१, आइतबार

आलु खेतीतर्फ आकर्षण बढ्दो

blog

सुजन काफ्ले

चरीकोट, जेठ ९ गते । पछिल्लो समय दोलखाको शैलुङका किसानहरू आलु खेतीतर्फ आकर्षित हुन थालेका छन् । आलु खेतीबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरू व्यावसायिक आलु खेतीतर्फ आकर्षित भएका हुन् ।

आलुले राम्रो भाउ पाउन थालेपछि किसानको जीवनस्तर फेरिँदै गएको छ । "आलुबाट बढी आम्दानी हुन थाल्यो," शैलुङ गाउँपालिका–३ ढुङ्गेका गणेश श्रेष्ठले भन्नुभयो, "अरू खेतीभन्दा आलुबाट चार गुना फाइदा हुने रहेछ ।"

उहाँको परिवारको खर्च आलु बेचेरै चलेको छ । गत वर्ष १३ रोपनीमा आलु खेती गर्नुभएका उहाँले वार्षिक ३ लाख रुपियाँ आम्दानी गर्नुभएको थियो । आलुखेतीबाट राम्रो आम्दानी भएपछि यो वर्ष उहाँले ३० रोपनी जग्गामा आलु रोप्नुभएको छ । यो वर्ष आलुखेतीबाट करिब दश लाख आम्दानी गर्ने लक्ष्य रहेको श्रेष्ठले बताउनुभयो । 

दोलखा र रामेछाप कार्यक्षेत्र रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले स्प्राईकल सिँचाइ मेसिन अनुदानमा दिएको थियो । स्प्राईकल सिँचाइको व्यवस्था भएपछि चैत, वैशाख महिनाको चर्को घाम र खडेरीमा पनि आलुलाई चाहिने पानीको व्यवस्था गर्न सहज भएको श्रेष्ठले बताउनुभयो । गत वर्ष उहाँले दुई लाख ७५ हजारको आलु बेच्नुभएको थियो । सिँचाइको व्यवस्था भएपछि यस वर्ष धेरै आलु रोपिएको हुँदा १० लाखभन्दा बढीको आलु बेच्ने सोच रहेको श्रेष्ठले बताउनुभयो । 

शैलुङ ६ चित्रेका किसानहरू समूह नै बनाएर आलु खेतीतर्फ लागेका छन् । सो समूहमा आबद्ध ३५ घरपरिवार व्यावसायिक आलुखेती तर्फ लागेका हुन् । आलु किसानहरूको समूहले १० लाख रुपियाँमा रष्टिक स्टोर निर्माण गरेका छन् । स्टोर निर्माण गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले ६ लाख अनुदान दिएको छ भने बाँकी ४ लाख रुपियाँ समूहले लगानी गरेको सो परियोजनाका एकाइ प्रमुख थिरलाल गैरेले बताउनुभयो । 

सो समूहका किसान निमसागर तामाङ आलु खेतीबाट स्थानीयहरूको आयआर्जनले जीवन फेरिएको बताउनुहुन्छ । "पहिला मुस्किलले पैसा देख्न पाइन्थ्यो," उहाँले भन्नुभयो, "अहिले यो नगदे बाली भएको छ र पहिलेको जस्ता अवस्था छैन ।" आलुबाटै मनग्य आम्दानी हुने गरेको किसानहरूले बताएका छन् । 

आलु खेतीमा मिहिनेत गरे किसानहरूले सजिलो रूपमा आम्दानी लिन सकिने उहाँको भनाइ छ । समूहका सबै किसानले वार्षिक करिब ३ लाख रुपियाँ आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । समूहका किसानहरूले करिब ५ सय रोपनी क्षेत्रमा आलुबाली लगाएका छन् ।

आलु कृषकको समस्यालाई ध्यानमा राखी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, रामेछापले कृषकको मागमा आधारित अनुदान दिँदै आएको छ । आलुले स्थानीय किसानको जीवन सुधार भइरहेको परियोजनाले जनाएको छ । 

दोलखाको शैलुङ क्षेत्र आलु उत्पादनका लागी मुख्य क्षेत्र हो । बर्सेनि कराैँडाैको आलु उत्पादन हुने सो क्षेत्रमा आलु उत्पादन भएपनि आलु बजार पुर्‍याउन सडकको र आलुको बजार नपाउने समस्या रहेको किसानहरूले गुनासो गरेका छन् । शैलुङको आलु राजधानी काठमाडौँ लगायतका क्षेत्रमा निर्यात हुँदै आएको छ ।