• २ असार २०८१, आइतबार

संसद् सचिवालयको आवश्यकता सम्बोधन हुनेगरी बजेटको व्यवस्था हुन्छ : अर्थमन्त्री पुन

blog

अर्थमन्त्री वर्षमान पुन । फाइल तस्बिर

काठमाडौँ, जेठ ९ गते। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा सङ्घीय संसद् सचिवालयलाई प्राथमिकता दिने बताउनुभएको छ। 

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायतले बुधवार सिंहदरबारमा आयोजना गर्नुभएको बजेटसम्बन्धी छलफलमा उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। 

बैठकमा सभामुख घिमिरेले सङ्घीय संसद् सचिवालयको कामकारबाहीलाई प्रभावकारी बनाउन पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो। 

जवाफमा अर्थमन्त्री पुनले सङ्घीय संसद् सचिवालयको आवश्यकतालाई सम्बोधन हुने गरी प्राथमिकताका साथ आगामी आर्थिक वर्षको बजेट आउने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले जानकारी दिनुभयो। 

सङ्घीय संसद् सचिवालयका अधिकारीले सवारी साधन समेत काम नलाग्ने अवस्थामा पुगेको उल्लेख गर्दै आगामी आर्थिक वर्षको बजेटमा नयाँ सवारी साधन खरिद हुनेगरी बजेटको व्यवस्था गर्न पनि अर्थमन्त्री पुनसँग अनुरोध गरेका थिए। सभापति खानले संसदीय समितिका सांसद र कर्मचारीले सङ्घीय संसद् सचिवालयको कामलाई प्रभावकारी हुनेगरी बजेटको व्यवस्था गर्न अर्थमन्त्री पुनको ध्यानाकर्षण गराउनुभएको बताउनुभयो।

छलफलमा प्रतिनिधि सभा उपसभामुख इन्दिरा राना, अर्थसचिव मधुकुमार मरासिनीलगायतका उपस्थिति रहेको थियो।