• १२ साउन २०८१, शनिबार

कोठाभाडा तिर्न नसक्दा...

blog

काठमाडौँ, जेठ ८ गते । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका-५ थलीमा मृतावस्थामा भेटिएका ५४ वर्षीय कृष्ण नगरकोटीले कोठाभाडा तिर्न पनि नसक्ने परिवारको आर्थिक अवस्थाका कारण आफू र छोराको ज्यान लिने गरी अप्रिय कदम चालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार छालिङ-७ भक्तपुरका नगरकोटी ट्याक्सी चलाउँथे । ट्याक्सी चलाउँदा पनि सोचेजस्तो आम्दानी नहुँदा परिवारको खर्च धान्नै मुस्किल थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले प्रारम्भिक अनुसन्धानमा सोही कारणले उनले आत्महत्या गरेको खुलेको जानकारी दिनुभयो । कालो कपडाले मुख छोपिएको र घाँटी काटिएको अवस्थामा उनको शव आज बिहान फेला परेको प्रहरीको भनाइ छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौँ तथा प्रहरी वृत्त बौद्धबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । कृष्णको शव भेटिएपछि छोरा रिचेन घाइते अवस्थामा भेटिएका थिए । दुवै जना मुखका कालो कपडाले छोपिएको र घाँटी काटिएको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ । प्रवक्ता अधिकारीले भन्नुभयो, “घाइते अवस्थामा आज भेटिएका रिचेनलाई प्रहरीले हिजो पनि चोभार चाल्नाखेलमा आत्महत्याको प्रयास गर्दैगर्दाको अवस्थामा उद्धार गरेको खुल्न आएको छ ।” प्रहरीका अनुसार कृष्ण विगत १५ वर्षदेखि ट्याक्सी चलाउँदै आएका थिए । 

श्रीमतीले छाडेपछि उनी छोरा रिचेन र छोरी रश्मिसँग काठमाडौँको रबिभवन, गणेशथानमा भाडाको कोठामा बस्दै आएका थिए । पछिल्लो तीन महिनायता कोठाभाडा तिर्न नसक्दा तीनै जना ट्याक्सीमा रात कटाउँदै आएको प्रहरीको भनाइ छ । रिचेन र रश्मिको मानसिक अवस्था सामान्य नदेखिएको खुल्न आएको प्रहरीले जनाएको छ । कृष्णले सोमबार सेतोपुल नजिक ट्याक्सी बिग्रिएको भन्दै छोरीलाई त्यही छाडेर छोरासँगै हिँडेका थिए । प्रहरीले आज बिहान सेतोपुल नजिकै रश्मीलाई ट्याक्सीभित्र बसिरहेको अवस्थामा फेला पारी उद्धार गरेको थियो । रश्मीलाई हाल जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको प्रवक्ता अधिकारीले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस