• १२ साउन २०८१, शनिबार

तराईमा लटरम्म स्याउ

blog

कैलालीको लम्कीचुहा–९, प्रतापपुरस्थित गोकर्ण ओलीको बारीमा लटरम्म फलेको स्याउ ।

चाँदनी आचार्य 

घोडाघोडी (कैलाली), जेठ ६ गते ।  कैलालीमा प्रचण्ड गर्मीसँगै तातो हावा चलेको छ । गर्मीका कारण खेतबारीमा रोपिएका कतिपय बोटबिरुवा सुकेका छन् तर लम्कीचुहा–९, प्रतापपुरका गोकर्ण ओलीको बारीमा भने स्याउ लटरम्म फलेको छ । गत फागुनदेखि फुल्न थालेको स्याउ खानका लागि असारसम्म तयार हुने अपेक्षा गरिएको छ । हिमालमा फल्ने स्याउ तराईमै फल्न थालेपछि गोकर्णको बारीमा सर्वसाधारणको आउजाउ बढेको छ । 

ओलीले २०७८ सालदेखि तीन बिघा जग्गामा व्यावसायिक स्याउ खेती सुरु गर्नुभएको हो । उहाँको व्यावसायिक स्याउ खेतीमा रहरलाग्दो स्याउ फलेपछि अन्य किसानसमेत आकर्षित हुन थालेका छन् ।  गत वर्षदेखि फल्न थालेको स्याउ यस वर्ष अझ बढी फल्ने भनाइ ओलीको छ । उहाँ भन्नुहुन्छ, “एक हजार दुई सय बोट स्याउ फुलेको थियो, स्याउ लगाएको तीन वर्षपछि मात्र उत्पादन लिन सकिने भएकाले गत वर्ष २० बोट र अहिले डेढ सय बोटमा फल लाग्न दिएका छौँ ।” 

ओलीको स्याउबारीका १५० बोटमा लटरम्मै स्याउका दाना लागेका छन् । तराईमा यसरी ठुलो क्षेत्रफलमा स्याउको व्यावसायिक खेती गर्ने ओली सम्भवतः पहिलो किसान हुनुहुन्छ । उहाँलाई स्याउ खेतीमा उत्प्रेरित गर्न प्रदेश सरकारले सहयोग गरेको छ । 

हालसम्म व्यावसायिक स्याउ खेतीमा ८० लाख रुपियाँ लागत लागेको जानकारी दिँदै ओलीले सुरुको वर्ष प्रादेशिक कृषि निर्देशनालयबाट साढे १० लाख, कृषि ज्ञान केन्द्रबाट साढे चार लाख रुपियाँ अनुदान पाएको बताउनुभयो । उहाँले सो अनुदान रकम बिरुवा खरिद र घेरबारमा खर्चेको बताउनुभयो । आर्थिक वर्ष २०८०/८१ मा कृषि ज्ञान केन्द्र कैलालीबाट चार लाख २८ हजार रुपियाँ थोपा सिँचाइका लागि अनुदान प्राप्त गर्नुभएको हो । ओलीले हालसम्म १० लाख रुपियाँ थोपा सिँचाइमा लगानी गरेको बताउनुभयो । ४८ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा एचआरएमएन (हर्मन) ९९ जातको स्याउको बोट भारतबाट ल्याएर खेती सुरु गरिएको हो । 

स्याउको बिरुवा पाँच वर्ष पुगेपछि पूर्ण उत्पादन दिन सुरु गर्छन् । ओलीले एउटा बोटले ५० किलोदेखि ८० किलोसम्म उत्पादन दिने बताउनुभयो । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का स्थानीय ओली स्याउ खेतीकै लागि कैलालीको प्रतापपुरमा एक करोड ८६ लाख रुपियाँमा तीन बिघा जग्गा खरिद गरी स्याउ खेती सुरु गर्नुभएको हो । 

उहाँले स्याउका बेर्नासमेत बनाएर बिक्री गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “गत वर्ष तीन सय रुपियाँ प्रतिबिरुवाका दरले एक हजार दुई सय स्याउका बेर्ना बिक्री गरेको थिएँ, अहिले पनि बेर्ना तयार हुँदै छन्, यसको माग बढ्दै छ ।” 

ओलीको व्यावसायिक स्याउ खेतीबाट प्रभावित बनेका घोडाघोडी नगरपालिका–३, निम्दीका किसान विष्णुप्रसाद चौधरीले आफूले पनि व्यावसायिक स्याउ खेती सुरु गरेको बताउनुभयो । ओलीको स्याउ खेती अवलोकन गर्नेहरू स्याउ खेतीतर्फ आकर्षित हुन थालेका छन् । स्याउको बजार पनि राम्रो भएको भनाइ उहाँहरूको छ ।