• १३ साउन २०८१, आइतबार

दस महिनामा एकचालिस अर्ब विदेशी लगानी प्रतिबद्धता

blog

काठमाडौँ, जेठ ५ गते । मुलुकमा १० महिनाको अवधिमा ४१ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) को प्रतिबद्धता आएको छ । 

उद्योग विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म ३०४ सय परियोजनामार्फत ४१ अर्ब ३८ करोड ५२ लाख २६ हजार रुपियाँ प्रतिबद्धता आएको हो । वैशाख महिनामा मात्र २१ वटा परियोजनामार्फत दुई अर्ब १५ करोड ८५ लाख रुपियाँ प्रतिबद्धता आएको छ । 

१० महिनामा सबैभन्दा धेरै पर्यटन क्षेत्रमा १४४, सेवा क्षेत्रका १०३, उत्पादनमूलक परियाजना ३४, सूचना तथा प्रविधि क्षेत्रमा नौ, कृषिजन्य सात, खानिजजन्य एक गरी परियोजना दर्ता भएका छन् । १० महिनामा सबैभन्दा धेरै साना उद्योग २९०, मझौला उद्योग १३ र ठुला चार उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको छ । 

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि चैत महिनासम्म छ अर्ब ४८ करोड रुपियाँ भित्रिएको छ । गत वर्ष सो अवधिमा दुई अर्ब ६२ करोड रुपियाँ भित्रिएको थियो । गत वर्षको तुलनामा चार अर्ब १४ करोड रुपियाँले बढी भित्रिएको हो । 

सो अवधिमा मुलुकबाट पुँजीगत ट्रान्सफर १९.२ प्रतिशतले कमी आएर चार अर्ब ७८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर पाँच अर्ब ९१ करोड कायम भएको थियो । चालु आवको बजेटमार्फत भएको नीतिगत सुधारसँगै मुलकमा भित्रिने विदेशी लगानीमा सुधार आएको हो । गत वर्षको तुलनामा चालु आवको सुरुदेखि नै मुलुकमा भित्रिने लगानीमा क्रमिक रूपमा सुधार हुँदै आएको छ । 

सुरुदेखि हालसम्म चार खर्ब ९१ अर्ब ३५ करोड ४१ करोड ४७ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । जसबाट छ हजार १६६ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएको छ । मुलुकमा लगानी गर्ने भनेर प्रतिबद्धता आए पनि सो अनुुपातमा विदेशी लगानी नआई न्यून मात्र आउने गरेको छ । प्रतिबद्धता गरे अनुसार ३० देखि ३५ प्रतिशत मात्र लगानी भित्रिने गरेको छ ।