• १९ जेठ २०८१, शनिबार

सबै दलको छलफलबाट राजनीतिक निकास आउँछ : मन्त्री अर्याल

blog

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल । फाइल तस्बिर

नेपालगन्ज जेठ ४ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सबै राजनीतिक दलको छलफलबाट राजनीतिक निकास आउने बताउनुभएको छ । रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिममा सहभागी हुन बाँकेको कोहलपुर आउनुभएका उहाँले पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले मात्रै निकास निकाल्न नसक्ने बताउनुभयो ।

उहाँले संवादबाट गतिरोधको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । सुसंस्कृत राजनीति गर्न भनेर आएको पार्टीले संसदमा गरेको गतिविधि दुःखद भएको उहाँको भनाइ थियो । मन्त्री अर्यालले वैदेशिक रोजगारका लागि विभिन्न देशमा गएका र जेलमा भएका नेपालीका विषयमा गहन अध्ययन हुन लागेको उल्लेख गर्दै श्रम स्वीकृति लिएर गएका नेपाली नागरिकका पक्षमा उद्धार, शव व्यवस्थापन, औषधो उपचार गर्न वैदेशिक रोजगार बोर्ड गठन भएको बताउनुभयो ।

उहाँले श्रम स्वीकृति नलिई जाने कामदारका लागि मन्त्रालयले कुनै काम गर्न नसक्ने जानकारी दिनुहुँदै  महिला कामदार विदेश जाने र असुरक्षा हुने विषय जटिल भएको उल्लेख गर्नुभयो । “वैदेशिक रोजगारीमा संस्थागत र व्यक्तिगत ठगी छ, यसलाई  योजना बनाएर काम गनुपर्छ”, मन्त्री अर्यालले भन्नुभयो । मन्त्रालयका सचिव घनश्याम उपाध्यायले श्रमसँग सम्बन्धित श्रम समाधान अभियान सञ्चालन हुन लागेको जानकारी दिनुभयो । उहाँले वैदेशिक रोजगारीका लागि मिटर ब्याजमा पैसा लिने समस्या चिन्ताको विषय भएको बताउनुभयो । रासस