गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ ४ गते । अरहान्त केशर सिंह र स्वस्थानी श्रेष्ठले शुक्रबार एनएसआरए राष्ट्रिय र्याङ्किङ स्क्वास प्रतियोगिताको उपाधि जित्नुभएको छ । नेपाल स्क्वास एन्ड र्याकेट्स सङ्घको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत पुरुष एकलको फाइनलमा अरहान्तले अमिर ब्लोनलाई चार सेटमा ११–५, ६–११, ११–१ र ११–५ ले हराउनुभयो ।
महिला एकलमा स्वस्थानी श्रेष्ठले राष्ट्रिय च्याम्पियन विपना ब्लोनलाई चार सेटमै ११–७, ९–११, ११–४, ११–५ ले पराजित गर्नुभयो । सातदोबाटोस्थित स्क्वास हलमा शुक्रबार नै तेस्रो स्थानका लागि भएको खेलमा दीपक थापाले पासाङ ब्लोनलाई चार सेटमै २–११, ११–०, ११–६ र ११–४ ले हराउनुभयो । महिला एकलमा कृष्णा थापा अस्मिता नगरकोटीलाई सीधा सेटमा ११–५, ११–७ र ११–३ ले हराएर तेस्रो हुनुभयो ।
यस प्रतियोगताबाट प्राप्त खेलाडीको वरीयता २०८१ सालको चैत महिनासम्म रहनेछ । यसैगरी शीर्ष चार स्थानमा रहने खेलाडीलाई स्क्वास सङ्घले नगद पुरस्कारबाट पुरस्कृत गरेको छ ।