• १२ साउन २०८१, शनिबार

अकुपन्चर विधिबाट सामान्यदेखि जटिल रोगको उपचार

blog

काठमाडौं, जेठ ४ गते । अकुपन्चर चाइनामा विकास भएको एक प्राचिन उपचार पद्धति हो, भनिन्छ । यो उपचार विधि ६ हजार वर्ष अघि नै प्रचलनमा आएको बताइन्छ ।  अकुपन्चर विशेषज्ञ डा. लोकेश कर्णका अनुसार ‘अकु’ भनेको सियो र ‘पन्चर’ भनेको घोच्ने हो ।

समस्या भएको ठाउँमा सियोले घोचेर रोग निको पार्ने उपचार पद्धतिलाई अकुपन्चर भनिने डा. कर्णको भनाइ छ ।  उहाँले भन्नुभयो, ‘हाम्रो शरीरमा विभिन्न प्रकारका अकुपन्चर बिन्दु हुन्छन् । त्यो बिन्दुलाई सियोको माध्यमबाट संक्रिय गरियो भने रोगहरु निको बनाउन सकिन्छ ।’ 

यो विधिबाट विभिन्न रोगको उपचार गर्न सकिने डा. कर्ण बताउनुहुन्छ । उहाँले नेपालमा विशेषगरी हाडजोर्नी, नसा, प्रसूति तथा स्त्रीरोग, ग्यास्टो, आइभिएस रोगको उपचारका अकुपञ्चर विधि प्रयोग गरिने बताउनुहुन्छ । 

हातमा मात्र अकुपन्चर, कानमा, पेटका विभिन्न ठाउँमा अकुपन्चर गरेर शरीरका विभिन्न ठाउँको उपचार गर्न सकिने डा. कर्णको भनाइ छ । डा. कर्णका अनुसार यो उपचार विधिबाट सामान्यदेखि जटिल प्रकारका रोग उपचारका लागि प्रयोग गरिन्छ । 

यो उपचार विधिबाट रोगको प्रवृति हेरेर यसको उपचारको समय निर्धारण गर्छ । रोग निको हुन जटिल समस्या छ, त्यहीअनुसार समय लाग्ने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘रोगको प्रकृतिअनुसार समय लाग्ने गर्छ । सामान्य ढाडको समस्या भएमा दुई पटक गर्दा पनि दुःखाइ निको हुन्छ । नसा च्यापिएको र हड्डी खिइएको समस्याका लागि समय लाग्ने गर्छ ।’ 

अकुपञ्चर गरेमा पूर्ण निको हुने उहाँ बताउनुहुन्छ । उपचार गर्दागर्दै बिचमा नै उपचार रोकेमा, रोगको राम्रोसँग पहिचान नभएमा, बिरामीलाई नगर्न भनेको काम गरेमा रोग पुनः बल्झिने सम्भावना रहने उहाँको भनाइ छ । 

डा. कर्णका अनुसार यो उपचार प्रद्धति प्राचिन र प्रभावकारी उपचार पद्धति हो । उहाँले भन्नुभयो, ‘हरेक रोगमा यसको प्रभावकारिता धेरै छ । वैकल्पिक चिकित्सक प्रद्धतिमा यसको प्रभावकारिता झन् धेरै छ ।’ अकुपञ्चर विशेषज्ञबाट उपचार गराएमा यो उपचार पद्धतिको  असर कम हुने डा. कर्णले बताउनुभयो ।

यो उपचारविधिबाट बच्चादेखि वृद्धासम्मको उपचार गरिन्छ ।  

पछिल्लो समय न्यूरो अकुपन्चर प्रचलनमा रहेको उहाँको भनाइ छ । यो उपचार पुरानो पद्धतिभन्दा भिन्न रहेको उहाँले बताउनुभयो । न्यूरो अकुपन्चर वैज्ञानिक उपचार विधिको प्रयोग गरेर गरिने  उहाँले तर्क गर्नुभयो । 

अकुपन्चर उपचार विधि, यसको उपचार प्रभावकारिता लगायतका विषयमा केन्द्रित भइ अकुपन्चर विशेषज्ञ डा. लोकेश कर्णसँग गोरखापत्र अनलाइनका लागि तयार पारिएको भिडियो संवादः

भिडियो : मनोजरत्न शाही र केशब गुरुङ

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।