• १२ साउन २०८१, शनिबार

स्वास्थ्य र कृषिमा अब्बल बनाउने

blog

महोत्तरीका १० वटा नगरपालिकामध्ये भङ्गहा नगरपालिका २०७४ सालमा साबिकका छ वटा गाविस भङ्गहा, सिङ्ग्याही, धर्मपुर, हतिसर्वा, मेघनाथगोरहन्ना र हरिहरपुर हरिनमरी एकीकृत गरी बनेको हो । जम्मा नौ वटा वडा रहेको यस नगरपालिकाको जनसङ्ख्या ५५ हजार ८४६ छ । ७७.७१ वर्ग किलोमिटरमा फैलिएको पालिकामा सामुदायिक विद्यालय २८ वटा छन् । १० वटा स्वास्थ्य चौकी र एउटा बर्थिङ सेन्टर सञ्चालनमा छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट यस पालिकाको प्रमुखमा निर्वाचित सञ्जीवकुमार साहसँग गोरखापत्रका जलेश्वर समाचारदाता महेशकुमार दासले गर्नुभएको कुराकानी :

पालिका प्रमुख भएको दुई वर्षभन्दा बढी भइसक्यो । यस अवधिलाई तपाईं कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

म नगरपालिका प्रमुुखमा दोस्रो पटक निर्वाचित भएको हुँ । जनताले मेरो काम हेरेर दोहो-याउने मौका दिएका हुन् । दोस्रो कार्यकालको दुई वर्षमा मैले ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, संस्कृति र पूर्वाधार  आत्मनिर्भर, समुन्नत र समृद्ध भङ्गहा निर्माणको आधार’ मूल मन्त्र बनाएर काम गर्दै आइरहेको छु । सिँचाइका लागि इनार, कृषि कार्यका लागि नौवटै वडामा विद्युतीकरण र स्वास्थ्य चौकी निर्माणलगायत बर्थिङ सेन्टरहरू सञ्चालन गरेको छु । यसै गरी शिक्षाको स्तरवृद्धिका लागि भौतिक संरचना निर्माणलगायतका काम गरेको छु । विद्यालयका लागि करिब आठ सय थान डेस्क बेन्चलगायतका फर्निचर तयार पार्नुका साथै १६ जना नगर शिक्षक भर्ना गरिसकेका छौँ । प्याथोलोजी ल्याब निर्माणको क्रममा छ । 

कृषि क्षेत्रमा के कस्ता काम गर्नुभएको छ ? 

हामीले कृषिको विकासका लागि धेरै काम गरेका छौँ । कृषि क्षेत्रको विकासका लागि ठुलो समस्या सिँचाइकै हो । यो समस्या समाधानका लागि करिब ६० वटा इनार निर्माण गर्न लगाएका छौँ । ती इनारसँगै कृषि विद्युतीकरण गर्ने कार्य पूरा गरेपछि हजारौँ किसान लाभान्वित हुने छन्  ।

अहिलेसम्म गर्व गर्नलायक के के काम भएका छन् ?

मैले गरेका सबै काम गर्व गर्नलायककै छन् । दुईबर्से कार्यकालमा १० कट्ठा १९ धुर जग्गामा पालिकाको प्रशासकीय भवन निर्माणको काम थालेका छौँ । स्वास्थ्य चौकी निर्माण गर्नुका साथै वडा कार्यालय भवन निर्माण गरेका छौँ । विद्यालयहरूमा सुविधासम्पन्न विज्ञान प्रयोगशालाको व्यवस्थापन, आइसिटी ल्याब सञ्चालनमा ल्याएर आधुनिक शिक्षामा जोड दिएका छौँ । 

सुशासनका लागि कर्मचारीलाई समयमै कार्यालय आउने र पूरा समय जनसेवामा लगाउन सफल भएका छौँ । त्यस्तै विद्यालयका शिक्षकहरू पनि समयमै विद्यालयमा उपस्थित हुने र पूरा समय दिनुपर्ने व्यवस्था गरेका छौँ । त्यसका सकारात्मक परिणामहरू देखिन थालेका छन् । 

काम गर्दै जाँदा के कस्ता चुनौतीको सामना गर्नु परेको छ ?

सबैभन्दा ठुलो चुनौतीको सामना शिक्षा सुधार गर्ने प्रयासमा गर्नु प-यो । सडक, पुल र भौतिक संरचना मात्र बनाएर विकास हुँदैन । शिक्षा क्षेत्रको विकास असली विकास ठानेर शिक्षाको गुणस्तर बढाउन लाग्दा विभिन्न चुनौती सामना गर्नु प-यो । अझ धेरै चुनौती बाँकी छन् । पालिकाको क्षेत्रको तुलनामा बजेटको आकार सानो हुँदा एकै पटक जनताका सबै अपेक्षा पूरा हुन सक्ने स्थिति छैन । हाम्रो अर्को चुनौती यही छ । 

तपाईंमाथि भाषण बढी र काम कम गर्ने गरेको आरोप छ नि ? 

यो आरोप मिथ्या हो । म भाषणभन्दा पनि काममा विश्वास गर्ने व्यक्ति हुँ । मैले भाषण मात्र गरेको भए दोहो¥याएर जित्ने नै थिइनँ । अहिले पनि मेरो कार्यपालिकामा बहुमत सदस्य विपक्षी नै छन् तर पनि दोस्रो पटक जनताले मलाई नै जिताउनुले पनि कामको मूल्याङ्कन भएको मेरो बुझाइ छ । यो विपक्षीले लगाउने झुटो आरोप हो । 

फोहोर र छाडा गाईवस्तुको व्यवस्थापन फितलो देखिएको छ नि ? 

फोहोर व्यवस्थापन गरिरहेका छौँ तर यहाँका बासिन्दाको बानी पनि बिग्रेको छ । सानो सानो फोहोर सडकमै फाल्ने गरेकाले त्यसको समाधान खोज्दै छौँ । फोहोर व्यवस्थापनकै लागि सात करोड रुपियाँको लागतमा डम्पिङ साइट निर्माण गर्ने टेन्डर लागिसकेको छ । अन्य पालिकाको तुलनामा मेरो पालिका सफा र छाडा गाईवस्तु व्यवस्थापनमा सुधार हुँदै छ । 

सङ्घ र प्रदेश सरकारबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको थियो र कस्तो सहयोग पाइरहनुभएको छ ? 

सङ्घ र प्रदेशबाट सन्तोषजनक सहयोग पाएका छैनौँ । मेरो पहिलो कार्यकालमा पनि धेरै सहयोग पाइनँ । यो बितेको दुई वर्षमा पनि एकाधबाहेक ठुला योजना पालिकाले केही पाएको छैन । अहिले सङ्घ सरकारबाट दुइटा प्रोजेक्ट सञ्चालनमा छन् । त्यसमा पनि नगरपालिकाबाट ४० प्रतिशत लगानी गर्नुपर्ने अवस्था छ । प्रदेशबाट देखाउने खालको कुनै बजेट परेको छैन । 

आगामी तीन वर्षमा के कस्ता काम गर्ने योजना छ ? 

अगामी तीन वर्षमा शैक्षिक स्तर सुधार नै मेरो मुख्य र महत्त्वपूर्ण योजना छ । त्यसका लागि आवश्यक भौतिक संरचना निर्माण गर्न अझै काम बाँकी छ । स्वास्थ्य चौकीको अवस्था राम्रो बनाउनु छ । प्रयोगशाला र बर्थिङ सेन्टरहरू निर्माण गर्नु छ । कम्तीमा १० श-याको अस्पताल निर्माण गर्नु छ । सिँचाइको समुचित प्रबन्ध गर्नुका साथै आउँदो वर्षभित्रै प्रशासकीय भवन ठड्याएर आफ्नै भवनमा पालिका सञ्चालन गर्ने योजना छ । मेरो कार्यकाल सकुन्जेल यस पालिकालाई स्वास्थ्य र कृषि क्षेत्रमा अब्बल पालिकाका रूपमा विकास गर्ने छु ।