• १२ मंसिर २०८१, बुधबार

विद्युत महसुल वृद्धि गर्ने निर्णयप्रति कांग्रेस रामपुरको ध्यानाकर्षण

blog

इमान सिं राना

रामपुर (पाल्पा), जेठ ३ गते । बुटवल पावर कम्पनी लिमिटेड आँधीखोला विद्युत वितरण केन्द्रको विद्युत महसुल वृद्धि गर्ने निर्णयप्रति नेपाली कांग्रेस रामपुर नगर कार्य समितिले ध्यानाकर्षण गराएको छ । विद्युत महसुल वृद्धि फिर्ता लिन माग गर्दै बिहीबार ध्यानाकर्षण पत्र बुझाएको हो ।   

विद्युत नियमन आयोगमार्फत गत मंगलबार बुटवल पावर कम्पनी लि.आँधीखोला विद्युत वितरण केन्द्रको विद्युत महसुल वृद्धि सम्बन्धमा जारी भएको सूचना प्रति ध्यानाकर्षण गराउँदै बुटवल पावर कम्पनी शाखा कार्यालय रामपुर, इलाका प्रशासन कार्यालय रामपुर र रामपुर नगरपालिकामा पत्र बुझाएको हो । नगर समितिले बुटवल पावर कम्पनी शाखा कार्यालय रामपुरका प्रमुख भीम सोमै, रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख दिनेश ज्ञवालीलाई पत्र हस्तान्तरण गरेको हो । 

उपभोक्ताले महसुल वृद्धि नगर्ने र कम्पनीबाट प्रदान गरिएको सेवालाई थप गुणस्तरीय बनाउँदै लैजानुपर्ने माग गरेकोमा बेवास्ता गर्दै आयोगले गरेको निर्णयले उपभोक्ता प्रभावित भएको कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई द्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ । पत्रमा भनिएको छ, "स्थानीय स्रोतसाधनको प्रयोग गरी सर्वसुलभ रूपमा गुणस्तरीय सेवा उपलब्ध गराउनु पर्नेमा जनताको ढाड सेक्ने गरी गरिएको महसुल वृद्धि फिर्ता लिन जोडदार माग गर्दछौँ ।"

महसुल फिर्ता नगरे चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने भन्दै कांग्रेसले यसबाट पर्न सक्ने क्षतिको जिम्मेवारी समेत स्वयम् विद्युत नियमन आयोग र बुटवल पावर कम्पनी लिनु पर्ने बताएको छ । विद्युत पोल, तार खरिदको लागि स्थानीय तहहरूको साथ र सहयोग हुँदा हुँदै आम सर्वसाधारणलाई मर्का पर्ने गरी भएको निर्णय प्रति सशक्त ढङ्गबाट प्रस्तुत हुने नगर सभापति भट्टराईले जानकारी दिनुभयो । रामपुर नगर प्रमुख रमण बहादुर थापाले पत्र ग्रहण गर्दै महसुल दर पुनरावलोकन गर्नु पर्ने माग नगरपालिकाले पनि गरेको जानकारी दिनुभयो । उहाँले पालिका बाट सहयोग हुँदा हुँदै पनि घाटा देखाएको प्रति नगरको पनि ध्यानाकर्षण भएको बताउनुभयो  । 

बुटवल पावर कम्पनी शाखा कार्यालय रामपुरका प्रमुख भीम सोमै र इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख दिनेश ज्ञवालीले पत्र सम्बन्धित स्थानमा पठाउने प्रतिबद्धता जनाउनु भएको छ । बुटवल पावर कम्पनी (बिपिसी) ले जेठ महिनाको खपत र असार महिनाको विलिङ्ग बाट लागु हुने गरी महसुल परिवर्तनको गरेको छ ।     

विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा गत वैशाख १४ गते सार्वजनिक सुनुवाइ गरेको थियो । हाल स्याङ्जाका तल्लो भेग र पाल्पावासीले बुटवल पावर कम्पनीको बिजुली उपयोग गर्दै आएका छन् ।