• १३ साउन २०८१, आइतबार

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

blog

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी ।

अविनाश चौधरी
धनगढी, जेठ ३ गते ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । बिहीबार प्रदेशसभामा विश्वासको मतका लागि उहाँले पेस गर्नुभएको प्रस्तावको पक्षमा २८ र विपक्षमा शून्य मत विभाजन भएकाले मुख्यमन्त्रीले प्रदेश सभाबाट बहुमत प्राप्त गरेको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा बहुमत प्राप्तिका लागि २७ जनाको समर्थन आवश्यक पर्दछ । मतदानमा २८ जना प्रदेश सभा सदस्यले सहभागिता जनाउनुभएको थियो । विपक्ष र तटस्थमा शून्य मत परेको सभामुख भण्डारीले जानकारी दिनुभयो ।

नेकपा (एकीकृत समाजवादी) पार्टीका सोडारी वैशाख ६ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उहाँ नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका दुई जना प्रदेश सभा सदस्य र एक स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो ।

मुख्यमन्त्री नियुक्तिको प्रक्रिया असंवैधानिक रहेको भन्दै नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका पाँच जना सदस्यले विरोध जनाउनुभएको थियो । विरोधको बाबजुद मुख्यमन्त्री सोडारीले विश्वासको मतका लागि सदनमा प्रस्ताव पेस गर्नुभएको थियो ।