शालिग्राम नेपाल
चितवन, जेठ ३ गते । चितवनको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले उत्पादन गरेको पाउडर दुध र नौनी बिक्री नभएपछि गोदाममा थन्किएको छ । किसानबाट दुध सङ्कलन गरी यसका विभिन्न उत्पादन बिक्री गर्दै आएको सहकारीले उत्पादन गरेको पाउडर दुधले मूल्य नपाएपछि गोदाममा थन्किएको हो । संस्थाले सङ्कलन गरेको दुधबाट पाउडर र नौनी बनाउने गरेको छ । यसरी बनाएको पाउडर दुध र नौनीले मूल्य नपाउँदा गोदाममा राख्न बाध्य भएको सहकारी संस्थाका अध्यक्ष प्रदीप तिमिल्सिनाले जानकारी दिनुभयो । गोदाममा थन्किएको पाउडर दुध र नौनीको मूल्य तीन करोड रुपियाँभन्दा धेरै पर्ने सहकारीले जानकारी दिएको छ ।
यसरी गोदाममा राख्दा चिस्यानको आवश्यकता पर्दछ । लामो समयसम्म राख्नु पर्दा लागत खर्च वृद्धि हुँदै जाँदा संस्थालाई आर्थिक बोझ थपिएको उहाँले बताउनुभयो । भारतबाट आउने पाउडर दुध गुणस्तरहीन र मिसावट हुँदा सस्तोमा पाउने गरेकाले स्वदेशी उत्पादन बिक्री नभएको भन्दै उहाँले भारतबाट आउने त्यस्ता गुणस्तरहीन दुधजन्य सामग्री आयातमा रोक्नुपर्ने बताउनुभयो । त्यसरी आउने दुधजन्य सामग्रीको अनुगमन र परीक्षण हुन नसक्दा अस्वस्थकर पाउडर दुध सस्तोमा उपभोक्ताले खरिद गरेको अध्यक्ष तिमल्सिनाले बताउनुभयो । स्वदेशी उत्पादनले बजार नपाउँदा त्यसको असर यहीँका व्यवसायी, किसानलाई पर्ने गरेकाले यसतर्फ सरकारको ध्यान जानुपर्नेमा उहाँले जोड दिनुभयो ।
संस्थाले दैनिक किसानबाट सात हजार लिटर दुध सङ्कलन गर्दै आएको छ । यसरी सङ्कलन गरेको दुध संस्थाले खुला क्यानबाट पोका बनाएर, प्याकेटमा बिक्री गर्दै आएको छ । अन्नपूर्ण ब्रान्डमा बिक्री गर्ने दुधको बजार चितवन, धादिङ, नवलपरासी, गोरखा, लमजुङ र मनाङसम्म जाने गरेको संस्थाका व्यवस्थापक करुण पोखरेलले जानकारी दिनुभयो । किसानबाट सङ्कलन गर्ने दुधको रकम महिनाको दुई पटक भुक्तानी गर्दै आएको संस्थाले जानकारी दिएको छ । किसानले डेरीलाई दिएको दुधको भुक्तानी लामो समयदेखि नपाउने गरेको भए पनि अन्नपूर्ण सहकारीमा दिएको दुधको मूल्य भने १५ दिनमा एक पटक भुक्तानी हुँदै आएको छ ।
अन्य सहकारीभन्दा अन्नपूर्णले प्रतिलिटर दुधको मूल्य बढी दिने गरेको अध्यक्ष तिमल्सिनाले बताउनुभयो । चार फ्याट, आठ एसएनएफ आउने दुधको प्रतिलिटर ८२ रुपियाँ किसानले पाउने गर्छन् । “यो पैसा अन्य डेरीको भन्दा प्रतिलिटर पाँच रुपियाँ धेरै हो,” अध्यक्ष तिमिल्सिना भन्नुहुन्छ । संस्थाले दुध, दही, घिउ, पनिर, नौनी, बटर, फ्रेस क्रीम, पशु दाना, साइलेस घाँस बिक्री गर्दैै आएको छ ।
२०७१ सालबाट डेरी सञ्चालन गर्दै आएको सहकारीले वार्षिक ३० करोड रुपियाँको कारोबार गर्दै आएको छ । चार सय सेयर सदस्य रहेको सहकारीले वार्षिक पाँच करोड रुपियाँ बचत गर्दै आएको संस्थाका अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो । प्रतिघण्टा एक हजार लिटर दुध प्रशोधन गर्ने पाश्चराइज गर्ने अत्याधुनिक मेसिन रहेको संस्थामा ४५ जना कर्मचारीले रोजगारी पाएका छन् । संस्थाका उत्पादन विभिन्न जिल्लाका पाँच सय पसलबाट बिक्री हुँदै आएको छ ।