• १२ साउन २०८१, शनिबार

इलाममा लागूऔषध घटना बढ्दै

blog

फाइल तस्विर

कोकिला ढकाल

इलाम, जेठ २ गते । पहाडी जिल्ला भए पनि इलाममा लागूऔषधका घटना बढिरहेका छन् । चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा इलाममा लागूऔषध सम्बन्धी १५ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

यीमध्ये गाँजामा एउटा र ब्राउनसुगरमा १४ वटा मुद्दा दर्ता भएका छन् । गाँजासम्बन्धी मुद्दामा तीन जना पक्राउ परेका छन् । ब्राउनसुगरमा ३१ जना पक्राउ परेर उनीहरूमाथि मुद्दा चलिरहेको इलामका डिएसपी प्रकाश जबेगूले बताउनुभयो । जबेगुका अनुसार यो आर्थिक वर्ष २०८०–८१ मा पाँच किलो ६७ ग्राम गाँजा बरामद भएको छ भने एकसय ३३ ग्राम ब्राउनसुगर बरामद भएको छ ।

जबेगूका अनुसार आर्थिक वर्ष २०७९–८० मा भने १४ वटा मुद्दा सङ्ख्यामा २२ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको थियो । यो वर्ष चार ग्राम ०३५ मिलिग्राम ब्राउन सुगर, स्पास्पेन ७४ पिस, ट्रामाडोल ५८ पिस बरामद गरिएको छ । 

यस्तै आर्थिक वर्ष २०७८–७९ मा आठ मुद्दामा १२ जना पक्राउ परेका थिए । यो वर्ष चार ग्राम ६८० मिलिग्राम ब्राउन सुगर, स्पास्पेन चार पिस, ट्रामाडोल चार पिस, गाँजा १ दशमलव ५ किलो गाँजा बरामद गरिएको जनाइएको छ । 

‘यो वर्ष लागूऔषधका १५ वटा मुद्दा दर्ता भइसकेको छ । वैशाख महिना मात्र पाँच वटा मुद्दा दर्ता भएका छन् । अझै दुई महिना बाँकी छ । निश्चित रूपमै लागूऔषधका मुद्दा बढ्ने छन्’ डिएसपी जबेगुले भन्नुभयो । 

भर्खरै इलाम आउनु भएका एसपी प्रभुप्रसाद ढकालले लागूऔषध मुद्दाको सङ्ख्या हेर्दा यसलाई संवेदनशील ढङ्गले हेर्नुपर्ने अवस्था रहेको बताउनुभयो । लागूऔषधको ओसार–पसार र प्रयोगकर्तालाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेमा आफू गम्भीर रहेको ढकालको भनाइ छ । 

‘प्रयोगकर्तालाई सुधारात्मक र कानुनी दुवै ढङ्गले हेरेर नियन्त्रणमा ल्याउने प्रयास गर्नेछौँ’ एसपी ढकालले भन्नुभयो, ‘लागूऔषध भित्रिने स्थानको सूक्ष्म पहिचान गरेर अघि बढ्ने छौँ ।’ तर, इलाम सदरमुकाम विद्यालयमा अध्ययन गर्ने धेरै विद्यार्थी १२ वर्ष उमेरदेखि चुरोट र गाँजाको लतमा फसेको पाइने गरेको सामाजिक अभियन्ताको भनाइ छ ।  

लागूऔषध नियन्त्रणमा काम गर्न थालेको ज्योतिर्मय सामाजिक अभियान इलामका अध्यक्ष धिरेन चेम्जोङले हरेक घरपरिवार, टोल, गाउँ, समाज लागूऔषधबाट आक्रान्त हुँदै गएकाले त्यसबाट बचाउन सबै अभिभावक सचेत हुनुपर्ने अवस्था रहेको बताउनुभयो । 

‘अहिले प्रयोगकर्ता मात्र होइन यसको व्यावसायिकता पनि बढेको अनुमान गर्न सकिन्छ, लागूऔषधले नछोएको घर छैन भन्ने अवस्था हराइसक्यो’ चेम्जोङले भन्नुभयो, ‘लागूऔषधले गर्दा भविष्य धेरै खतरामा छ ।’ 

लागूऔषध न्यूनीकरण र नियन्त्रणका लागि सचेतना गराउन अब जिल्लाका सबै पालिकामा अभियान चलाउने तयारी रहेको चेम्जोङको भनाइ छ । २०६७ मा गरिएको एक सर्वेक्षणका अनुसार नेपालमा एक लाख ३० हजार ४२४ जना लागूऔषध प्रयोगकर्ता रहेको पाइएको थियो । 

जोतिर्मय सामाजिक अभियानका सल्लाहकार धर्म गौतमले २०६९ मा गरिएको अर्को सर्वेक्षणमा ९१ हजार ५३४ जना लागूऔषध प्रयोगकर्ता रहेको बताउनुभयो । यी दुई सर्वेक्षणका आधारमा २०६७ को सर्वेक्षण प्रतिवेदनमा लागूऔषध प्रयोगकर्ताको वार्षिक वृद्धिदर पाँच दशमलव शून्य छ प्रतिशत रहेको गौतमले जानकारी दिनुभयो ।

प्रदेशगत अध्ययनमा कोशी प्रदेशमा २७ हजार ६०५, मधेश प्रदेशमा १५ हजार ८३४, बागमतीमा ४६ हजार ४८०, गण्डकीमा आठ हजार ९५६, लुम्बिनीमा २५ हजार ९३०, कर्णालीमा एक हजार ८११, सुदूरपश्चिममा तीन हजार ८०८ जना लागूऔषध प्रयोगकर्ता रहेको गौतमले जानकारी दिनुभयो ।