• १५ चैत २०८२, आइतबार

गाउँपालिका जोडिने सडक कालो पत्रे गर्न सुरु

blog

कालोपत्रे गर्नका लागि तयार पारिएको काबेली–पुर्णेडाँडा सडक खण्ड । तस्विर : साहारा लिम्बू

साहारा लिम्बू
फुङलिङ, चैत १५ गते ।
पाथीभरा याङवरक गाउँपालिकाको केन्द्रसम्म जोडिने सडकको कालो पत्रे गर्न सुरु गरिएको छ । मेची राजमार्गस्थित काबेलीदेखि पुर्णेडाँडासम्मको १० किलोमिटर सडक कालोपत्रे गर्न सुरु गरिएको हो ।

१० किलोमिटर सडकमध्ये चालु आर्थिक वर्षमा चार किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्ने गरि निर्माणको कार्य धमाधम भइरहेको गाउँपालिका अध्यक्ष केशर कुमार सुब्बाले जानकारी दिनुभयो । उहाँका अनुसार संघीय सरकारको पाँच करोड र गाउँपालिकाको पाँच करोड रुपियाँको साझेदारीमा कालोपत्रे गर्ने कार्य सुरु गरिएको हो ।

निर्माणको कार्य दुई स्थानमा छुट्टाछुट्टै कम्पनीले गरिरहेका छन् । श्याम श्री जय सम्भु चक्र जेभी इलाम र श्याम श्री जय सम्भु प्रकाश जेभी इलामले दुई–दुई किलोमिटर सडक कालोपत्रे गर्ने गरि ठेक्का प्राप्त गरि निर्माणको कार्यलाई तीव्रता दिएका छन् ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा निर्माणको कार्य सम्पन्न गर्ने गरि कामलाई तिव्रता दिइएको छ । हाल निर्माणको कार्य जारी रहेकाले सडकमा आवातजावत समेत बन्द रहेको निर्माण कम्पनीले जनाएको छ । सदरमुकाम फुङलिङदेखि पालिकाको केन्द्रसम्म आवतजात गर्नका लागि तोक्मेडाँडा–दोखु–नाङखोल्याङ–कामीडाँडा हुँदै सेरम्फुको सडक खुल्ला रहेको छ ।

पछिल्लो केहीसातादेखि निरन्तर भइरहेको वर्षाका कारण निर्माण कार्यमा असर परिरहेकोले दैनिक रुपमा शतप्रतिशत काम गर्न नसकिएको कम्पनीले जनाएको छ ।