भैरहवा समाचारदाता
भैरहवा, चैत १५ गते । विश्व शान्तिको केन्द्र मानिने लुम्बिनीलाई थप हराभरा, स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित हरियाली अभियानलाई तीव्रता दिइएको छ । अभियान अन्तर्गत लुम्बिनी क्षेत्रमा १८ हजार नयाँ बिरुवा रोप्ने महत्वाकाङ्क्षी लक्ष्य राखिएको छ ।
लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईका अनुसार गुरुयोजना अनुसार लुम्बिनीको ६० प्रतिशत क्षेत्र हरियाली र ४० प्रतिशत क्षेत्रमा मात्र भौतिक संरचना निर्माण गरिने छ । उहाँले पछिल्लो समय घट्दै गएको हरियालीलाई पुनस्र्थापना गर्न यो अभियान सञ्चालन गरिएको बताउनुभयो ।
यस कार्यमा टिएचडी फाउन्डेसन, लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष तथा ‘ग्रिन युथ लुम्बिनी’ बिच सहकार्य भएको छ । अभियानले लुम्बिनी आउने पर्यटकलाई शान्त, हरियाली र मनमोहक वातावरणको अनुभव गराउने लक्ष्य राखेको छ । विशेष गरी फूल फुल्ने मौसममा थप पर्यटक आकर्षित हुने विश्वास गरिएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनका अनुसार हरित पार्क सरसफाइ अध्ययन केन्द्रको उद्घाटनसँगै नगरलाई हराभरा बनाउने अभियानलाई औपचारिकता दिइएको छ । नगरपालिकाका १३ वटै वडामा हरियाली प्रवर्धन गर्न सडकका डिभाइडरमा फूल रोप्ने, बगैँचा निर्माण गर्ने तथा प्रमुख सडकखण्ड माझगाउँदेखि महदेवा र पर्सादेखि पडरिया हुँदै बोर्डरसम्म सुन्दर बनाउने योजना अघि बढाइएको छ । रोपिएका बिरुवा र फूलको संरक्षणका लागि दैनिक रूपमा सरसफाइ कर्मचारी परिचालन गरिएको छ । उनीहरूले गोडमेल, सिँचाइ र सरसफाइको जिम्मेवारी समालिरहेका छन् । साथै फूल तथा बिरुवाको संरक्षणका लागि विभिन्न स्थानमा बुद्धका उपदेश र सचेतनामूलक सन्देश राखिने तयारी गरिएको छ ।
ग्रिन युथ लुम्बिनीका अध्यक्ष अर्जुन कुर्मीका अनुसार अभियानमा लुम्बिनी विकास कोष, नगरपालिका, जिल्ला वन कार्यालय रूपन्देहीलगायत विभिन्न सङ्घ संस्थाको सक्रिय सहभागिता रहेको छ । उहाँले वृक्षरोपणले पर्यटकलाई पदयात्राका क्रममा छहारी प्रदान गर्नुका साथै क्षेत्रको प्राकृतिक सौन्दर्य बढाउने बताउनुभयो । साथै उहाँले बढ्दो तापक्रम र जलवायु परिवर्तनको असर न्यूनीकरणमा समेत यसले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
हालसम्म संयुक्त प्रयासमा चार सय बिरुवा रोपिइसकेको र ती सबै जोगाउन सफलता मिलेको जानकारी दिँदै उहाँले आगामी दिनमा १८ हजार बिरुवा रोप्ने लक्ष्य पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।अभियानलाई रूपन्देही, कपिलवस्तु (तिलौराकोट), देवदह र रामग्रामसम्म विस्तार गर्ने ‘ग्रेटर लुम्बिनी’ अवधारणा पनि अघि सारिएको छ । खाली तथा ऐलानी जग्गा, नदी किनार र सार्वजनिक स्थानमा वृक्षरोपण गरी वातावरण संरक्षण र जैविक विविधता प्रवर्धन गर्ने लक्ष्य राखिएको छ । यस अभियानमा स्थानीय युवा समूह, आमा समूह, किशोरी अधिकार मञ्चलगायतका सङ्घ संस्थाको सहकार्य रहेको छ भने विदेशमा रहेका नेपालीबाट समेत आर्थिक सहयोग जुटिरहेको छ ।