• १२ साउन २०८१, शनिबार

टेबलटेनिसमा नेपालको ओलम्पिक सहभागिता पक्का

blog

स्यान्टु श्रेष्ठ ।

काठमाडौँ, जेठ २ गते । पेरिसमा यसै वर्ष आयोजना हुने ओलम्पिक गेम्समा नेपालबाट टेबलटेनिस खेलाडीको सहभागिता पक्का भएको छ । 

लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी दक्षिण एसियाली छनोट प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फ नेपालका स्यान्टु श्रेष्ठ र संयोग कपालीले फाइनजलमा स्थान बनाएसँगै नेपालको ओलम्पिक सहभागिता पक्का भएको हो । 

बुधबार भएको सेमिफाइनलमा स्यान्टुले श्रीलङ्का चमिरा गिनिगे र संयोगले श्रीलङ्काकै जयसनका डी सिल्भालाई पराजित गर्दै फाइलालमा स्थान बनाउनुभएको हो । दुईमध्ये फाइनल जित्ने खेलाडी पेरिस ओलम्पिकमा छनोट हुनेछ । 

यससँगै स्यान्टु र संयोगमध्ये एक छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली बन्नुहुनेछ । यसअघि तेक्वान्दोकी सँगिना वैद्य र तेक्वान्द्योकै दीपक विष्टले छनोट चरण पार गरेर ओलम्पिक खेल्नुभएको थियो । 

छनोटमा महिला एकलतर्फ नेपालकी इभाना थापा श्रीलङ्काकी बन्दारा बिमान्दीसँग पराजित हुँदा सेमिफाइनलबाटै बाहिरिनुभयो । प्रतियोगितामा नेपाल, बङ्गलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काको सहभागिता रहेको छ । 

भारत माथिल्लो स्तरमा रहेकोले सहभागी छैन । यस प्रतियोगिताबाट पुरुष र महिलामा एक एक खेलाडी ओलम्पिकमा छनोट हुनेछन् ।