• १९ असार २०८१, बुधबार

खुम्चियो वाणिज्य बैङ्कको नाफा

blog

भेषराज बेल्बासे

काठमाडौँ, वैशाख १० गते । पछिल्लो समय बैङ्क तथा वित्तीय क्षेत्रमा देखिएको तरलता समस्या, व्यापार घाटा र विदेशी विनिमय सञ्चितिको असर वाणिज्य बैङ्कको नाफामा देखिएको छ । बैङ्किङ क्षेत्रमा तरलता अभाव जारी रहँदा बैङ्कको नाफा वृद्धि कमजोर देखिएको छ । अधिकांश बैङ्कले आधार दर बढाएर ब्याज आम्दानी बढाए पनि नाफा दर भने बढाउन सकेका छैनन् । निक्षेप सङ्कलन बढाउन नसकेका बैङ्कहरूले पछिल्लो समय कर्जामा पनि कडाइ गर्दै आएका थिए । 

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सञ्चालनमा रहेका ‘क’ वर्गका २७ बैङ्कले चैत मसान्तसम्ममा कुल ५१ अर्ब एक करोड ७८ लाख ११ हजार रुपियाँ खुद नाफा आर्जन गरेका छन् । बैङ्कहरूको यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.५४ प्रतिशत मात्र बढी हो । 

२०७७ चैतमा वाणिज्य बैङ्कको ५० अर्ब ७४ करोड २५ लाख रुपियाँ नाफा गरेका थिए । २७ वाणिज्य बैङ्कमध्ये ११ वटाको नाफा भने औसतभन्दा धेरै रहेको छ भने १२ बैङ्कको खुद नाफा घटेको छ । सेन्चुरी कमर्सियल बैङ्कको नाफा सबैभन्दा धेरै १८३ प्रतिशतभन्दा धेरैले बढेको छ भने लक्ष्मी बैङ्कको खुद नाफा ३३ प्रतिशतभन्दा धेरैले घटेको हो ।

बढी नाफा कमाउने ग्लोबल आईएमई

समीक्षा अवधिमा लक्ष्मी बैङ्कको नाफा ३३.३१ प्रतिशत र नबिल बैङ्कको नाफा ८.९१ प्रतिशतले घटेको छ भने सबैभन्दा धेरै नाफा कमाएको ग्लोबल आईएमई बैङ्कको ४.१३ प्रतिशत र एनआईसी एसिया बैङ्कको नाफा १९.९६ प्रतिशतले बढेको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ग्लोबल आईएमई बैङ्कले सबैभन्दा बढी नाफा कमाएको छ । बैङ्कले प्रकाशित गरेको विवरणअनुसार बैङ्कले तीन अर्ब ७२ करोड ६२ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैङ्कले तीन अर्ब ५७ करोड ८२ लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढाएको बैङ्कले समीक्षा अवधिमा सात अर्ब ४३ करोड ९७ लाख रुपियाँ खुद ब्याज आम्दानी गरेको छ भने एक अर्ब २५ करोड नौ लाख रुपियाँ खुद फि तथा कमिसन आम्दानी गरेको छ । त्यसैगरी चैत मसान्तसम्ममा बैङ्कको सञ्चालन मुनाफा पाँच अर्ब १७ करोड ५६ लाख रुपियाँ रहेको छ ।

आव २०७८÷७९ को तेस्रो त्रैमासमा ग्लोबल आईएमई बैङ्कसँगै एनआईसी एसिया बैङ्क र नबिल बैङ्क प्रतिस्पर्धामा देखिएका छन् । यी तीनवटै बैङ्कले प्रकाशित गरेको विवरणअनुसार नौ महिनाको अवधिमा तीन अर्ब रुपियाँभन्दा बढी नाफा आर्जन गरेका छन् । बैङ्कको समग्र नाफा ०.५४ प्रतिशतले मात्र बढेको छ ।

सर्वाधिक नाफा कमाउनेको अग्रपङ्क्तिमा रहेको ग्लोबल आईएमई बैङ्कलाई पछ्याउँदै आएको एनआईसी एसिया बैङ्कले तीन अर्ब ६० करोड रुपियाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.९६ प्रतिशत बढी हो । बैङ्कले गत वर्षको यही अवधिमा तीन अर्ब ४८ लाख नाफा आर्जन गरेको थियो ।

तेस्रो स्थान सुरक्षित गरेको नबिल बैङ्कले तीन अर्ब ३५ करोड २० लाख रुपियाँ आर्जन गरेको छ । नबिल बैङ्कको नाफा गत आवको यसै अवधिको तुलनामा ८.९१ प्रतिशतले घटेको हो । गत वर्षको यसै अवधिमा नबिलले तीन अर्ब ६७ करोड नाफा आर्जन गरेको थियो । नबिलको नाफा घटेपछि आईएमई र एनआईसी एसिया बैङ्कले अगाडि पुगेका हुन् । गत वर्षको यसै अवधिमा नबिल धेरै नाफा कमाउनेको पहिलो नम्बरमा थियो ।

खुम्चियो सरकारी बैङ्कको नाफा

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सरकारी स्वामित्वका सबै बैङ्कको नाफा खुम्चिएको छ । राष्ट्रिय वाणिज्य बैङ्कले दुई अर्ब ६१ करोड ६७ लाख १९ हजार रुपियाँ मुनाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.९८ प्रतिशतले कमी हो । अघिल्लो वर्षको सोही अवधिमा बैङ्कले तीन अर्ब २७ करोड ८५ हजार रुपियाँ मुनाफा आर्जन गरेको थियो । 

अर्को सरकारी स्वामित्वको बैङ्क नेपाल बैङ्कले पनि दुई अर्ब १९ करोड २९ लाख ३१ हजार रुपियाँ मुनाफा आर्जन गरेको छ । यो पनि अघिल्लो वर्षको सोही अवधिमा भन्दा ३.०७ प्रतिशतले कमी हो । बैङ्कले अघिल्लो वर्ष दुई अर्ब २६ करोड २२ लाख ७७ हजार रुपियाँ नाफा आर्जन गरेको थियो ।

कृषि विकास बैङ्क झनै दुई अर्ब रुपियाँभन्दा तल झरेको छ । यो बैङ्कले एक अर्ब ९० करोड ५३ लाख ९३ हजार रुपियाँ मुनाफा आर्जन गरेको छ जुन अघिल्लो वर्षको भन्दा ८.०९ प्रतिशतले कमी हो । अघिल्लो वर्ष भने यो बैङ्कले दुई अर्बभन्दा माथि नाफा सुरक्षित गरेको थियो । अघिल्लो वर्ष कृषि विकास बैङ्कले दुई अर्ब सात करोड ३० लाख ६१ हजार रुपियाँ मुनाफा आर्जन गरेको थियो ।